झापा । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले देशका तीन शीर्ष नेतालाई २०८३ मा राजनीतिबाट सन्यास लिन आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई सन्यासको सुझाव दिँदै उनले देशलाई सिंगो राष्ट्रको नेतृत्व गर्ने नयाँ अभिभावक आवश्यक रहेको बताए ।

झापाको मेचीनगरस्थित धुलाबारी खानेपानी उपभोक्ता समितिको ४ लाख ५० हजार लिटर क्षमताको खानेपानी ट्याङ्की शिलान्यास गर्न गृह नगर पुगेका शर्माले भने, ‘२०८३ साल देशका लागि सुखद वर्ष बन्न सक्छ । तीन नेताले सन्यास लिएर नयाँ पुस्तालाई अवसर दिए नागरिकमा आशा र उत्साह बढ्नेछ ।’
कांग्रेसको आगामी महाधिवेशनबाट सभापति परिवर्तन हुने पनि उनले प्रष्ट पारे । पार्टीको विधानमा यससम्बन्धी व्यवस्था रहेको उल्लेख गर्दै शर्माले भने, ‘नयाँ सभापति को बन्ने भन्ने विषयमा छलफल र बहस भइरहेको छ। हामी परिवर्तनको बाटोमा अघि बढ्छौं ।’
मेचीनगर–९, पशुपति गाउँमा निर्माण हुने उक्त खानेपानी ट्यांकीको शिलान्यास समारोहमा स्थानीयवासीको उत्साहजनक सहभागिता थियो। शर्माले स्थानीय विकासका यस्ता आयोजनाले समुदायको जीवनस्तर उकास्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।