काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले किसानलाई मलखाद नदिएर जिउँदै मारिरहेको बताएका छन् ।

रौतहटको कटहरियामा सोमबार बसेको पार्टी जिल्ला कमिटीको विशेष बैठक साहले अहिले धानबाली लगाउने मुख्य सिजनमा सरकारले आवश्यक मलखाद्य नदिएर किसानलाई जिउँदै मारेसरह बताएका हुन् ।
उनले भने, ‘अहिले धानबाली लगाउने महत्त्वपूर्ण समय छ । यो कुरा सरकारमा बस्नेहरूलाई पनि थाहा छ । किसान अहिले मल खाद्य, बिउ बिजनको जोहो गरिरहेका छन् । तर यो अन्धो सरकारले किसानको पिडा देखिरहेको छैन । किसान मारा सरकारलाई किसानको आँसुले पोल्छ । किसानलाई मल खाद्य, बिउविजन उपलब्ध गराउने जिम्मेवारी केन्द्रीय सरकारको हो तर किसानको बारेमा गफ मात्रै दिइरहेको छ, मल खाद्य उपलब्ध गराउन सकेको छैन ।’
किसानहरू अहिले मल खाद्य नपाएर छटपटाइरहेको बताउँदै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग किसानलाई मल किन उपलब्ध नगराएको भन्दै प्रश्न समेत गरे ।
किसानलाई मल खाद्य उपलब्ध गराउने केन्द्रीय सरकारले मल उपलब्ध गराउन नसकेको तर किसानले एक दुई बोरा मल भारतबाट ल्याउँदा सीमामा बस्ने प्रहरीले पक्राउ गरेर बाहुदरी देखाइरहेको टिप्पणी साहले गरे । जनताको समस्या, जनताको चाहना नबुझेको वर्तमान सरकार पूर्णरुपमा असफल भइसकेको उनले बताए । सरकार जनतालाई भन्दा विचौलिएलाई खुशी पार्नमा व्यस्त रहेको साहको आरोप छ ।
यस्तै, उनले लुटकारी दलतन्त्रका विरुद्धमा न्याय प्रेमी जनता एवं दलहरू एकजुट हुनुपर्ने अहिलेको आवश्यकता भएको बताए । बिचौलिया, भगौडावर्गको पक्षपोषण गरिरहेको यो सरकारले दलीय सिन्डिकेट लागु गरेर लुट मच्चाएको आरोप साहले लगाए । लुटकारी दल तन्त्रको विरुद्धमा एकजुट भएर नलागे राज्य नै खतरामा पर्ने साहको भनाइ छ ।














