काठमाडौं । इजरायल र इरानबीचको युद्ध चौथो दिनमा प्रवेश गरेको छ । शुक्रवार इजरायलले इरानका आणविक केन्द्र, सैन्य अड्डा र बस्तीमा आक्रमण गरी युद्ध सुरु गरेको थियो । जवाफमा इरानले ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ ।

इरानको स्वास्थ्य मन्त्रालयका अनुसार चौथो दिनसम्म २२४ जनाको मृत्यु भएको छ, जसमध्ये पहिलो दिन १२८ जना मारिएका थिए । मृतकमा इरानी सेनाका वरिष्ठ अधिकारी, आणविक वैज्ञानिक र सर्वसाधारण छन् । १,२७७ जना घाइते भएका छन् ।
इजरायलमा २४ जनाको मृत्यु भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार ३०० जना अस्पतालमा छन्, जसमध्ये पछिल्लो आक्रमणमा ८ जनाको मृत्यु भएको छ ।
इजरायलको हवाई प्रतिरक्षा प्रणाली बलियो मानिन्छ । तर, इरानी क्षेप्यास्त्रले तेल अभिभ र हाइफा जस्ता सहरमा ठुलो क्षति पुर्याएको छ । यसले इजरायली जनमानसमा आश्चर्य र त्रास उत्पन्न गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इजरायली अधिकारीहरूले प्रतिरक्षा प्रणाली प्रभावकारी रहेको, तर कुनै पनि प्रणालीले सबै क्षेप्यास्त्र रोक्न नसक्ने बताएका छन् ।
इजरायलले इरानी राजधानी तेहरानको आकाशमा पूर्ण नियन्त्रण कायम गरेको दाबी गरेको छ । अमेरिकी अधिकारीहरूका अनुसार इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या गर्ने इजरायली प्रस्तावलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्वीकार गरेका छन् । ट्रम्पले दुवै पक्षलाई संवादका लागि आग्रह गरेका छन् । तर, इरानी अधिकारीहरूले इजरायली आक्रमण जारी रहँदा वार्ता सम्भव नरहेको स्पष्ट पारेका छन् ।