काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले बजेटको प्रभावकारी कार्यान्वयनमा आशङ्का नगर्न आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले बजेटको घोषणामात्रैले नपुग्ने र त्यसको प्राण कार्यान्वयनमा रहने कुरामा सरकार स्पष्ट रहेको बताए । बजेटको कार्यान्वयन सम्बद्ध मन्त्रालय र आयोजना प्रमुखहरूलाई जबाफदेही बनाइने उनले बताए ।

पौडेलले बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न योजना तयार गरेर अघि बढ्ने जानकारी दिए । उनले बजेट निर्माणमा स्रोतको प्रस्ताव कार्यान्वयनयोग्य हुनुपर्नेमा आफू होसियार भएको बताए । त्यस्तै उनले आगामी आर्थिक वर्षको बजेटमा तीन करोड रुपैयाँभन्दा कम लागतका नयाँ आयोजना नराख्ने सरकारको नीति रहेको उल्लेख गरे । यद्यपि सम्पन्न हुने अवस्थामा पुगेका आयोजनाहरूमा भने तीन करोडभन्दा कम रकम विनियोजन गर्नु परेको उनको भनाइ छ ।
मन्त्री पौडेलले निजी क्षेत्रलाई विद्युत् उत्पादन र व्यापार गर्न खुला गर्ने गरी विधेयक सदनमा विचाराधीन रहेको भन्दै उक्त विधेयक पारित भएपछि विद्युत् प्राधिकरणले मात्रै विद्युत् बिक्री गर्नुपर्ने अवस्थाको अन्त्य हुने उल्लेख गरे । उनले अब निजी क्षेत्रले समेत विद्युत् व्यापार गर्न पाउने भएकाले टेक एन्ड पे को चिन्ता नगर्न आग्रह गरे ।
अर्थमन्त्री पौडेलले ऋणको सन्दर्भमा वित्त आयोगले निर्धारण गरेको ५ दशमलव ५ प्रतिशतको सीमा भन्दा कम ५ प्रतिशत ३ प्रतिशत मात्रै आन्तरिक ऋण उठाउने प्रस्ताव गरिएको जानकारी दिए ।