काठमाडौं । नेपालको संसद्मा एक जना सांसदले अवरोध गरे पनि बैठक स्थगित हुने मान्यता पटक–पटक उल्लङ्घन हुँदै आएको छ । सोमबार प्रतिनिधि सभाका दुई बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले अवरोध गरे पनि सभामुख देवराज घिमिरेले कार्यसूची अगाडि बढाए ।

पहिलो बैठकमा रास्वपाका सांसदहरूले वेल घेराउ र नाराबाजी गरे। साँझ ५:२० बजे बसेको दोस्रो बैठकमा पनि उनीहरू सुरुदेखि नै उभिएर विरोध जनाए । सभामुख घिमिरेले रास्वपाको विरोधलाई बेवास्ता गर्दै बैठकको कार्यसूची अघि बढाए । त्यसपछि रास्वपाका सांसदहरू पुनः नारा लगाउँदै वेलमा पुगे ।
सभामुखले रास्वपाको नाराबाजी र वेल घेराउलाई वास्ता नगरी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई रोष्ट्रममा बोल्न समय दिए ।
मन्त्री पौडेलले ‘विनियोजन विधेयक, २०८२’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । लगत्तै सभामा छलफल सुरु भयो । छलफल सकिएपछि प्रस्ताव स्वीकृतिका लागि पेस हुनेछ। स्वीकृत भएपछि सांसदहरूलाई संशोधन प्रस्ताव राख्न ७२ घण्टाको समय प्रदान गरिनेछ ।
रास्वपाका सांसदहरूले भने नाराबाजी जारी राखे। उनीहरूको नारा थियो– “हाम्रो आन्दोलन जारी छ, मानव तस्करलाई कारबाही गर, गृहमन्त्रीले राजीनामा दे, मानव तस्करलाई संरक्षण बन्द गर, झुटो कति बोलेको ? जनताले सबै सुनेको छ, फासफुस सम्झौता चाहिँदैन ।”