काठमाडौं । धरान उपमहानगरपालिकामा मेयर हर्कराज राई (हर्क साम्पाङ) र उपमेयर अइन्द्रबिक्रम बेघाबीचको विवादले तनावपूर्ण स्थिति सिर्जना भएको छ । सोमबार मेयर राईले सञ्चालन गरेको श्रमदान अभियानको डोर हाजिर गरी उपमहानगरपालिकाबाट भुक्तानी लिन खोजेपछि उपमेयर बेघाले आपत्ति जनाएका थिए ।

विवाद बढ्दै जाँदा मेयर राईले आफ्ना समर्थकहरूलाई नगरपालिका कार्यालय बोलाएर उपमेयर बेघाले आफूमाथि आक्रमणको प्रयास गरेको आरोप लगाए । जवाफमा आक्रोशित बेघा समूहले पनि मेयर राईविरुद्ध आक्रमणको प्रयास गरेको दाबी गरिएको छ ।
हाल दुवै पक्षका दर्जनौँ कार्यकर्ताहरू उपमहानगरपालिका परिसरमा जम्मा भई नाराबाजी र एकअर्काविरुद्ध आक्रमणको प्रयास गरिरहेका छन् । स्थिति नियन्त्रण गर्न इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगु र वडा प्रहरी कार्यालय धरानका प्रहरी नायब निरीक्षक रुद्र खड्काको नेतृत्वमा प्रहरी टोली खटिएको छ । विवादले उपमहानगरपालिकाको दैनिक कामकाज प्रभावित भएको छ ।