काठमाडौं । मितेरी सहकारी ठगी प्रकरणमा फरार रहेका ज्योतिबहादुर भण्डारीलाई कम्बोडिया प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी प्रधान कार्यालयका एक अधिकारीले भण्डारी कम्बोडियामा पक्राउ परेको पुष्टि गर्दै नेपाल ल्याउने प्रक्रिया सुरु भएको बताए । नेपाल प्रहरीको टोली कागजातसहित कम्बोडिया पठाइएको छ ।

भण्डारी सहकारीका सदस्य नभए पनि ऋण प्रवाह गरेको भेटिएपछि अनुसन्धान सुरु भएको थियो । इन्टरपोलमार्फत २०८१ कात्तिकमा उनको नाममा रेड नोटिस जारी भएको थियो । भण्डारी पक्राउ परेसँगै ठगी प्रकरणका नयाँ तथ्य खुल्ने अपेक्षा गरिएको छ । उनविरुद्ध यसअघि तीनवटा ठगी मुद्दा दर्ता छन् ।
यो प्रकरणमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको नाम पनि जोडिएको छ । सीआईबीले धनराजलाई दुई पटक बोलाएर शङ्कास्पद रकमबारे सोधपुछ गरेको थियो । उनले एकैदिन ६८ लाख २६ हजार ९१४ रुपैयाँ सहकारीमा जम्मा गरेको पाइएको छ ।
भण्डारीसँगै फरार रहेकी धनराजकी पूर्वपत्नी ज्योति गुरुङ अमेरिका पुगेको आशङ्का छ । प्रहरीले उनलाई नेपाल ल्याउन पहल गरिरहेको छ ।