Logo
Logo

मितेरी सहकारी ठगीका मुख्य आरोपी पक्राउ, धनराजकी पूर्वपत्नी अझै फरार


2k
Shares

काठमाडौं । ललितपुरको मितेरी सहकारी ठगी प्रकरणका मुख्य आरोपी ज्योतिबहादुर भण्डारी पक्राउ परेका छन् । सहकारीको रकम अपचलन प्रकरणमा जाेडिएर फरार रहेका भण्डारीलाई इन्टरपोलमार्फत कम्बोडियामा पक्राउ गरि बुधबार राति नेपाल ल्याइएको हो ।

त्यसका लागि एसपीको कमान्डमा नेपाल प्रहरीको टोली कम्बोडिया पुगेको थियो । भण्डारीलाई काठमाडौं ल्याएर केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को जिम्मा लगाइएको छ । मितेरी सहकारीको ठगी प्रकरणको अनुसन्धान सिआइबीले गरिरहेको छ ।

सिआइबीका प्रमुख एआइजी चन्द्रकुवेर खापुङले मितेरी सहकारी ठगीमा संलग्नमध्ये ज्योतिबहादुर भण्डारीलाई पक्राउ गरेर नेपाल ल्याइएको बताए ।

भण्डारीले सहकारीबाट क्रिप्टोमा लगानी गर्ने भन्दै रकम लगेको सिआइबीको अनुसन्धानमा देखिएको थियो । भण्डारी यस ठगी प्रकरणमा प्रमुख आरोपी हुन् । बर्दिया घर भएका भण्डारी समेतले सहकारीको ३ करोड ४४ लाख रुपैयाँ अपचलन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ ।

प्रहरीले भण्डारीसहित नेपाली कांग्रेसका सांसद एवं उपसभापति धनराज गुरूङकी पूर्वपत्नी ज्योति गुरूङविरूद्ध पनि रेड कर्नर नोटिस जारी गरेको थियो । तर, उनी हालसम्म फरार छिन् । मितेरी सहकारी बेलायती र भारतीय सेनाबाट अवकाशप्राप्त लाहुरेहरूको पहलमा खोलिएको सहकारी हो ।

प्रतिक्रिया दिनुहोस्