Logo
Logo

कोशीका मन्त्री हाङगामले कुटे नेकपा एसका नेता


9.3k
Shares

काठमाडौं । कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेमाथि मुक्का प्रहार गरेका छन् ।

दुई वर्ष अघि जिल्ला प्रहरी प्रमुखलाई सार्वजनिक कार्यक्रमबाटै धम्क्याएका मन्त्री हाङगामले मंगलबार गृह जिल्ला ताप्लेजुङमा अध्यक्ष थेबेलाई हातपात गरेका हुन् । एकीकृत समाजवादीका नेता समेत रहेका थेबेले मन्त्री हाङगामले आफुलाई फुङलिङ नगरपालिका–४ को एक क्याफे परिसरमा दुई मुक्का हानेको स्वीकार गरे ।

‘म कफी खाएर घरतिर जाँदै थिएँ । उहाँ मदिरा सेवन गरेर आउनुभएको रहेछ । अनि ०८४ मा मसँग चुनाव लड्ने भन्दै हिँड्दै छौं रे भन्नुभयो । तपाईंलाई कसले भन्यो ? भन्ने मान्छे ल्याउनुहोस् भनेपछि उहाँले तलाईं तेस्रो मान्छे चाहिन्छ भन्दै मुक्का प्रहार गर्नुभयो । हेलमेट लगाएकाले चाेटपटक भने लाग्न पाएन,’ उनले भने ।

यद्यपी हेलमेट लगाएकाले आफुलाई कुनै चोटपटक नलागेको उनले बताए । उनले मन्त्री हाङगामले आफुमाथि हातपात गरेकोबारे प्रहरीकहाँ कुनै उजुरी दिएका छैनन् ।

हाङगाम यसअघि पनि विवादमा तानिएका थिए । ०८० भदौ २२ गते ताप्लेजुङको मिनी महोत्सवको विवादमा सांसद हाङगामले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका तत्कालीन प्रमुख (डीएसपी) राजन लिम्बूलाई धम्क्याएका थिए ।

सार्वजनिक कार्यक्रममा जिल्ला प्रहरी प्रमुखलाई नै धम्की दिएपछि उनी विवादमा तानिएका थिए । घटनाको छानबिनका लागि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले समिति नै गठन गरेको थियो । तर कांग्रेस नेताहरुको सक्रियतामा यो विषय मिलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्