
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले भिजिट भिसा प्रकरणमा अझ सशक्त ढंगले अगाडि बढ्ने निर्णय गरेको छ ।
बुधबार बसेको सचिवालय बैठकले सभापति रवि लामिछानेमाथि लगाइएको मुद्दा र भिजिट भिसा प्रकरणमा सशक्त ढंगले अघि बढ्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेको हो । कार्यवाहक प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै पार्टी सभापति बारे र भिजिट भिसा प्रकरणमा सशक्त ढंगले अघि बढ्ने निर्णय भएको जानकारी दिएका हुन् ।
‘सभापति रवि लामिछानेमाथि लगाइएको झुट्टा र प्रतिशोधपूर्ण मुद्दाको वर्तमान अवस्था र भिजिट भिसा काण्डमा छलफल भयो । सभापति विरुद्धको मुद्दामा पार्टी एक ढिक्का भएर अघि बढ्ने तथा भिजिट भिसा काण्डमा संसदमा संसदीय दलको प्रयास प्रशंसनीय रहेको ठहर गर्दै अझ सशक्त रूपमा संसदमा प्रस्तुत हुन संसदीय दललाई निर्देशन दिने’, विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै विषम राजनीतिक परिस्थितिमा वैकल्पिक राजनीति पक्षधर, अभियन्ता तथा स्वतन्त्र समूहहरूलाई एउटै धागोमा बाँध्न पार्टीले नेतृत्व लिने र ‘सहकार्य–संवाद कार्यदल’ गठन गरेको छ ।
त्यसैगरी रास्वपाले असार ७ गते बिहान ‘लुटतन्त्रको खारेजी एवं सुसंस्कृत राजनीतिको संवद्र्धनका लागि सडक र संसदमा’ भन्ने मूल नारासहित देशव्यापी अभियान सञ्चालन गरी पार्टीको तेस्रो स्थापना दिवस मनाउने निर्णय गरेको छ ।














