काठमाडौं । कम्बोडियाबाट पक्राउ गरी बुधवार राति काठमाडौं ल्याइएका मितेरी सहकारी ठगी प्रकरणका अभियुक्त ज्योतिबहादुर भण्डारीविरुद्ध काठमाडौं जिल्ला अदालतले सात दिनको म्याद थप गरेको छ ।

अदालतले लिखतसम्बन्धी कसुर र ठगीको अनुसन्धानका लागि यो म्याद प्रदान गरेको हो । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बिहीबार भण्डारीलाई अदालतमा उपस्थित गराएको थियो । सीआईबीका प्रवक्ता युवराज खड्काका अनुसार, नागरिकता, राहदानी र सहकारी ठगीको विषयमा अनुसन्धान गर्न अदालतले पहिलो पटक सात दिनको म्याद दिएको छ ।
अनुसन्धानका क्रममा भण्डारीले कास्की र बर्दियाबाट दुई फरक नम्बरका नागरिकता र राहदानी लिएको खुलासा भएको छ । यस विषयमा पनि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
ललितपुरमा रहेको मितेरी सहकारीको रकम हिनामिना गरी लामो समयदेखि फरार रहेका भण्डारीविरुद्ध इन्टरपोलमार्फत रेड नोटिस जारी भएको थियो । उनले सहकारीका १४४ बचतकर्ता र सञ्चालकको करिब १४ करोड रुपैयाँ अपचलन गरेको आरोप छ ।
बर्दियाको बाँसगढी गाउँपालिका–७ का ४२ वर्षीय भण्डारीले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङमार्फत सहकारीको रकम हिनामिना गरेको प्रहरीको दाबी छ । उक्त रकम क्रिप्टोकरेन्सीमार्फत विदेश पुर्याएको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ।