काठमाडौं । साउदी अरबबाट फर्किएका एक व्यक्तिमा मंकीपक्स (एमपक्स) सङ्क्रमण देखिएको छ । काठमाडौंको बूढानीलकण्ठका ती व्यक्ति शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा भर्ना भएका छन् ।

उनमा ज्वरोसहित एमपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएपछि नमुना सङ्कलन गरी टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो । बुधवार उक्त परीक्षणले मंकीपक्स पुष्टि गरेको हो ।
अस्पतालका मेडिकल रेकर्डर समीर अधिकारीका अनुसार बिरामीलाई क्याबिनमा राखेर उपचार भइरहेको छ र उनको स्वास्थ्य अवस्था सामान्य छ । यो वर्ष अस्पतालमा तीन जनामा एमपक्स पुष्टि भएको अधिकारीले बताए ।
नेपालमा पहिलो पटक २०८० असारमा यो रोग देखिएको थियो । चिकित्सकहरूका अनुसार मंकीपक्स मंकीपक्स भाइरसबाट सर्ने सरुवारोग हो, जुन मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा फैलिन्छ। यो पोक्सभिरिडे परिवारको अर्थोपक्स भाइरसअन्तर्गतको डबल स्ट्रन्डेड डीएनए भाइरस हो । सन् २०२२/२०२३ मा एमपक्सले विश्वव्यापी महामारीको रूप लिएको थियो।