
काठमाडौं । नारायणघाट–बुटवल सडकखण्डको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोलामा आएको बाढीले यात्रुवाहक बस बगाएको छ ।
काठमाडौंबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१ख ४०८५ नम्बरको बस गएराति बाढीले बगाएको हो । विनयी खोलाको नयाँ डाइभर्सनबाट बस गुडिरहेको बेला एक्कासी आएको बाढीले बस बगाएको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रमुख प्रहरी निरीक्षक राजन तिमिल्सेनाले जानकारी दिए ।
‘नयाँ डाइभर्सनबाट आउँदै गर्दा बाढीले बस बगाएको हो’, उनले भने, ‘तत्काल एक्साभेटर लगेर सबै यात्रुको सकुशल उद्धार गर्न सफल भयौँ ।’
बसमा तीन बच्चासहित ३८ जना यात्रु सवार रहेका थिए । उक्त क्षेत्रमा पानी निरन्तर परिरहेका कारण खोलाबाट बस निकाल्न नसकिएको उनले बताए । यात्रुको सामान के कति बगायो भन्नेबारे थाहा हुन सकेको छैन ।
रातभरी परेको पानीका कारण उक्त सडकखण्ड पूर्णरुपमा अवरुद्ध छ । दाउन्नेमा सडक हिलाम्य भएकाले सवारीसाधन गुड्न सकेका छैनन । प्रहरीले वैकल्पिक सडक प्रयोग गर्न यात्रुलाई आग्रह गरेको छ ।