काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को विनियोजित बजेटमाथि सत्तारुढ नेपाली कांग्रेसका सांसद दीपक गिरीले प्रतिनिधिसभाको शुक्रवारको बैठकमा तीव्र असन्तुष्टि र आक्रोश व्यक्त गरेका छन् । उनले बजेटलाई विकासमैत्री, लगानीमैत्री वा जनमैत्री नभई केवल सत्ताधारीमैत्री भएको आरोप लगाए ।

सांसद गिरीले झापाका विभिन्न योजनाहरू जस्तै होमस्टे, किरियापुत्री भवन, आदिवासी संग्रहालय र पार्क निर्माणका लागि करोडौँ बजेट विनियोजन हुँदा टरिगाउँ विमानस्थललाई भने उपेक्षा गरिएको बताए । उनले टरिगाउँ विमानस्थलको जग्गा अधिग्रहणका लागि ७० देखि ९० करोड आवश्यक पर्ने अनुमान रहेकोमा सरकारले केवल एक करोड विनियोजन गरेको भन्दै सरकारको नियतमाथि प्रश्न उठाए । ‘यो हास्यास्पद छ, जनप्रतिनिधिलाई नङ्ग्याउन खोजिएको हो कि ?’ उनले आक्रोशित हुँदै भने ।
गिरीले झापाको एउटै क्षेत्रमा १२ वटा आयोजनाका लागि तीन९तीन करोडको बजेट विनियोजन भएको उल्लेख गर्दै बजेट वितरणमा पक्षपात भएको आरोप लगाए । उनले भने, ‘यो बजेटले न जनतालाई देख्यो, न विकासमैत्री भयो, न लगानीमैत्री भयो, न सांसदमैत्री भयो । यो केवल सत्ताधारी र मन्त्रीहरूको पक्षमा बनाइएको छ ।’ उनले सभामुखलाई समेत २५ लाखको योजना दिइएको भन्दै व्यङ्ग्य गरे ।
सांसद गिरीले टरिगाउँ विमानस्थल निर्माणको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा पटक९पटक प्रतिबद्धता जनाएको स्मरण गराउँदै बजेटको यो व्यवस्थाले दंगाली जनतामाथि विश्वासघात भएको बताए । ‘मैले दंगाली जनतालाई विमानस्थल बन्छ भनेर विश्वास दिलाएको थिएँ । तर, एक करोडको बजेटले मेरो इज्जत र साखमाथि आघात भएको छ,’ उनले थपे ।
सत्तारुढ दलकै सांसदको यस्तो कडा आलोचनाले बजेटमाथिको छलफललाई थप पेचिलो बनाएको छ। गिरीले सरकारले जनताको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने आयोजनालाई प्राथमिकता नदिएको भन्दै गम्भीर आपत्ति जनाएका छन् । ‘हामीलाई ठुलो आकाङ्क्षा होइन, केवल इज्जत र साख जोगाइदिनुस्,’उनले सरकारलाई आग्रह गरे ।