काठमाडौं । इजरायल-इरान युद्धका कारण समस्यामा परेका नेपाली नागरिकको उद्धारका लागि परराष्ट्र मन्त्रालयले सक्रिय कदम चालेको छ । परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले शुक्रवार गृह मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधिसँग छलफल गरिन् ।

छलफलमा युद्ध प्रभावित क्षेत्रमा रहेका नेपालीलाई सुरक्षित स्वदेश फर्काउन आवश्यक रणनीति र प्रक्रियाबारे विचारविमर्श भएको मन्त्री राणाले बताइन् । उनले भनिन्, “इजरायल र इरानमा रहेका नेपालीले स्वदेश फर्कन चाहेमा उनीहरूले परराष्ट्र मन्त्रालयको पोर्टलमा दर्ता गर्नुपर्नेछ । युद्ध सुरु भएदेखि नै हामीले अवस्थालाई गम्भीरतापूर्वक नियालिरहेका छौँ र उद्धार प्रक्रियालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको छ ।”
यसैगरी, मन्त्रालयले चौबिसै घण्टा सक्रिय रहने गरी गृह, श्रम र पर्यटन मन्त्रालयका अधिकारीहरू समावेश एक विशेष युनिट गठन गरेको छ । यो युनिटले नेपालीको उद्धार र सहरीकरणमा निरन्तर काम गर्नेछ । परराष्ट्र मन्त्रालयले समस्यामा परेका नेपालीलाई तत्काल सहयोग गर्न प्रतिबद्ध रहेको जनाएको छ ।