काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले सरकार संसद्मा उठाइएका प्रश्नहरूबाट भागेको आरोप लगाएकी छिन् । शुक्रवार सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले प्रधानमन्त्रीलाई प्रश्न नगरे कसलाई गर्ने भन्दै सरकारको जवाफदेहीताप्रति प्रश्न उठाइन् ।

“हामीले संसद्को प्रश्नोत्तर कार्यक्रम रोक्न भनेका होइनौँ । हाम्रा पनि प्रश्न थिए, हाम्रा कुरा थिए,” उनले भनिन्, “प्रधानमन्त्री सरकारको नेतृत्वकर्ता हुनुहुन्छ । उहाँलाई प्रश्न नगरे कसलाई गर्ने ?”
आज संसद्मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम तय गरिएको थियो । तर, रास्वपाको विरोधका कारण सभामुख देवराज घिमिरेले उक्त कार्यक्रम कार्यसूचीबाट हटाए । सांसद गौतमले यो कदमप्रति असन्तुष्टि व्यक्त गर्दै भनिन्, “सदनमा हाम्रो स्थान नरहेको ठानेर हामीले बहिष्कार गरेका हौँ । जनताको बीचमा जानुबाहेक हाम्रो अर्को विकल्प के छ ?”
सामाजिक सञ्जालमार्फत पनि उनले सरकारमाथि गम्भीर आरोप लगाइन् । “हामी नेपाली नागरिकलाई बेचेर दासत्वमा धकेल्ने संरक्षित सञ्जालविरुद्ध लडिरहेका छौँ । बेचिएका नेपालीहरूको आँसुले सरकारलाई न त छुन्छ, न त जवाफदेही बनाउँछ,” उनले भनिन् । “बरु, हाम्रो विरोधलाई सरकारले संसद्का प्रश्नबाट भाग्ने बहानाका रूपमा प्रयोग गरिरहेको छ। जनप्रतिनिधिको विरोधलाई बेवास्ता गरेर समाधानविना सदन चलाउनु हुँदैन ।”
सांसद गौतमले सरकार र संसद्ले आफूहरूको विरोधलाई सुविधा अनुसार मात्रै देख्ने गरेको बताइन् । “क्या गजब छ! हाम्रो विरोध अब सरकार र संसद्को नजरमा सुविधाअनुसार देखिने र नदेखिने विषय बनेको छ,” उनले व्यङ्ग्यात्मक रूपमा भनिन् । “जे होस्, रुँदै गरेका नागरिकको पीडामाथि पर्दा हाल्दै सरकार प्रश्नबाट उम्कन सफल भएको छ । बधाई छ सरकार !”
उनले जनप्रतिनिधिहरू एक्लै देखिए पनि उनीहरूले जनताको ठुलो समर्थन बोकेको उल्लेख गर्दै त्यसलाई बेवास्ता गर्न नहुने बताइन् । “म एक्लै देखिए पनि हामीले जनताको मत बोकेर आएका छौँ । जनताको आवाज सुन्दै नसुन्ने हो भने संसद्को औचित्य के रह्यो ?” उनले प्रश्न गरिन् ।