Logo
Logo

रास्वपाले जनताको आवाज उठाउँदै आएको छ : सोबिता


567
Shares

काठमाडौं । रास्वपा सांसद सोबिता गौतमले भारतमा रहेका नेपालीहरूलाई स्वदेश फर्केर आगामी निर्वाचनमा सहभागी भई देशको भविष्य निर्माणमा योगदान गर्न आह्वान गरेकी छन् । उनले रास्वपाले संसद्मा जनताका मुद्दा उठाइरहे पनि जनताका पीडा सम्बोधन गर्न पर्याप्त सांसद सङ्ख्या नरहेको बताइन् ।

आइतबार भारतको कर्नाटकमा प्रवासी नेपाली सम्पर्क मञ्चअन्तर्गत राज्य समिति घोषणा सभालाई सम्बोधन गर्दै सांसद गौतमले भारतमा विभिन्न पेसा–व्यवसायमा संलग्न नेपालीहरूलाई २०८४ को निर्वाचनमा स्वदेश फर्किन आग्रह गरिन् ।

उनले भनिन्, ‘भारतमा रहेका करिब ६० लाख नेपालीले स्वदेश फर्केर नेपालको भाग्य लेख्न तयार हुनुपर्छ । रास्वपा संसद्मा चौथो ठुलो दल हो, हामी जनताका आवाज उठाउँछौँ, तर समस्याको समाधानका लागि हाम्रो सङ्ख्या पर्याप्त छैन । संसद्मा सङ्ख्याले नै निर्णय गर्छ ।’

सांसद गौतमले रास्वपाले २०८४ को निर्वाचनलाई लक्षित गरी तयारी गरिरहेको उल्लेख गर्दै २०७९ को निर्वाचनले जनताका मुद्दा उठाउने अवसर दिएको र आगामी निर्वाचनमा जनताका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले नेपालको संसद् रास्वपाका सांसदहरूका कारण हेर्न लायक बनेको दाबी गरिन् । ‘रास्वपाले जनताका मुद्दामा अडिग भएर आवाज उठाएको छ । भिजिट भिसा प्रकरण र अध्यागमन अनियमितताको छानबिन माग्दै हामीले संसद्को वेल घेराउ गरेका छौँ,’ उनले भनिन् ।

रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको उनको आरोप थियो । सहकारी ठगीलगायतका मुद्दामा थुनामा रहेका लामिछानेको पक्षमा बोल्दै उनले रास्वपाले सङ्घर्षको बाटोबाट अघि बढिरहेको र जनताका आवाज दबाउने प्रयास भइरहेको बताइन् ।
 

सांसद गौतमले विगतका राजनीतिक परिवर्तनमा भारतमा रहेका नेपालीको महत्त्वपूर्ण भूमिका रहेको स्मरण गर्दै आगामी निर्वाचनमा पनि उनीहरूको सहभागिता आवश्यक रहेको बताइन् । उनले भारतमा रहेका नेपालीलाई मतदानका लागि स्वदेश फर्किन र मुलुकको आर्थिक समृद्धिका लागि एकजुट हुन आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस्