Logo
Logo

नाडामा भाँडभैलो, गोल्छालाई लोप्पा


252
Shares

काठमाडौं । गाडी व्यवसायीहरूमा लफडा सुरू भएको छ । गाडी व्यवसायीहरूको महामेला ‘नाडा अटो शो’ सुरु हुनै लाग्दा नाडामा भने भाँडभैलो भएको हो । यसले नाडाको भविष्यमाथि नै प्रश्न उठ्न थालेको छ । नाडाले भाद्र ३ गते देखि ८ गतेसम्म १७औं संस्करणको नाडा अटो शो २०२५ आयोजना गर्ने घोषणा यसअघि नै गर्दै आएको छ । अटो शोको तयारी गर्नुको साटो नाडाका पदाधिकारीहरू अहिले विवादमा अल्झिएका छन् ।

उसो त, नाडाको विकल्पमा अहिले नयाँ संगठन नाइमा सक्रिय भएको छ । नाडालाई फुटाएर गठन भएको नाइमाले अझै पनि नाडामा भाँडभैलो मच्चाउनका लागि भूमिका खेलिरहेको आरोप लाग्दै आएको छ । यस विवादको जड भने ४७ औं साधारणसभा हो । नाडाको ४७ औं साधारण सभाबाट वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरेर आकाश गोल्छालाई भाबी अध्यक्ष बनाउने प्रतिबद्धता गरिएको थियो ।

तर, उक्त प्रतिबद्धता अनुसार विधान संशोधन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अस्वीकार गरेपछि गोल्छा सदस्यमा घटुवा भएपछि नाडामा विवाद चर्किएको थियो । नाडा अध्यक्ष चौधरीले कुनै सल्लाह नगरी हठातमा गोल्छालाई सदस्यमा घटुवा गरेका थिए । त्यसपछि यो विवादले लामो रुप लिएको हो ।

नाडामा भएको भाँडभैलो अध्यक्ष करण चौधरीलाई कालोमोसो दल्ने सम्मको अवस्थामा पुगेको छ । केही व्यवसायीहरूले चौधरीलाई कालोमोसो दल्ने, उनीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तथा नाडामा तालाबन्दी बनाउने जस्ता अभिव्यक्ति दिँदै आएका छन् ।

हालै मात्र अटो व्यवसायीहरुको संस्था नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले चारजना केन्द्रिय कार्यसमिति सदस्यसँग स्पष्टीकरण मागेको छ । नाडाले अध्यक्ष करण चौधरीलाई कालो मोसो दल्ने, उनीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने र नाडामा तालाबन्दी गर्ने तथा नाडालाई स्पेयर पाट्र्सहरुको संस्था बनाउने जस्ता विधानविपरित संस्थाको साख विपरित अभिव्यक्ति दिएको भन्दै उनीहरुलाई ७ दिने लिखित स्पष्टीकरण मागेको हो ।

नाडामा यो किमिसको विवाद पदमा घटबढ गरेसँगै देखिएको विवाद हो । पछिल्लो समय आकाश गोल्छा पक्ष नाडाका अध्यक्ष करण चौधरीले आफूलाई वरिष्ठ उपाध्यक्षबाट सदस्यमा घटुवा गरेको र नाडाका कामकारबाहीमा समेत व्यक्तिगत तरिकाले गर्ने गरेको भन्दै असन्तुष्ट छन् । त्यही असन्तुष्टि पोख्दै आकाश पक्षका सुनिल रिजालले सार्वजनिक रुपमा अध्यक्ष चौधरीविरुद्ध अभिव्यक्ति दिएका थिए ।

अहिले गोल्छा पक्षका व्यवसायीहरूलाई एक्लाउने प्रयास भइरहेको देखिएको छ । व्यवसायीहरू त्यसपछि अध्यक्ष चौधरी विरुद्धमा उत्रन थालेका हुन् । यसैलाई आधार बनाएर नाडाले केन्द्रिय कार्यसमिति सदस्यहरु आकाश गोल्छा, सुनिल रिजाल, प्रदिपमान प्रधान र सन्जय खेतानसँग लिखित स्पष्टीकरण मागेको छ । खेतान, गोल्छा र प्रधानलाई रिजालले दिएको अभिव्यक्तिमा साथ दिएको आरोप लगाइएको छ ।

नाडाले आकाश गोल्छा र सुनिल रिजाललाई केन्द्रीय कार्यसमिति सदस्यबाट हटाउने चेतावनी दिएको छ । यसका लागि केन्द्रिय कार्यसमिति सदस्यबाट किन नहटाउने भन्नेबारे स्पष्टीकरण दिन पनि भनिएको छ ।

यस्तै, अन्य प्रदिपमान प्रधान र सन्जय खेतानलाई ६ महिनाको लागि निलम्बन गर्ने चेतावनी दिइएको छ । उनीहरुलाई पनि केन्द्रिय कार्यसमिति सदस्यबाट ६ महिनाको लागि निलम्बन किन नगर्ने भन्दै जवाफ पेस गर्न भनिएको छ ।

अध्यक्ष चौधरीले नाडाको अलिअलि बचेखुचेको साख पनि झन् खस्काउँदै गएको आरोप लागिरहेको छ । एकातर्फ फुटिसकेको नाडा भने अर्कोतर्फ फेरि विवादै विवादमा फस्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्