काठमाडौं । बाल मन्दिर नक्सालको जग्गा हिनामिना प्रकरणका एक प्रतिवादी धरौटीमा रिहा भएका छन्। जिल्ला अदालत काठमाडौँका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले सोमबार तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

उनीसहित बालमन्दिरकी तत्कालीन अध्यक्ष रिता सिंहसहित १७ जनाविरूद्ध वैशाख २४ गते अदालतमा मुद्दा दायर भएको थियो । सिंह उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहकी दिदी हुन् ।
गत वैशाख २३ गते महान्यायाधिवक्ता कार्यालयले उनीहरूविरूद्ध मुद्दा चलाउने निर्णय गरेको थियो । बालमन्दिरको जग्गा लिजमा दिँदा अनियमितता गरेको उनीहरूमाथि आरोप छ । नेपाल बाल संगठनलाई हानिनोक्सानी पु¥याउने उद्देश्यले २०४९ देखि २०७२ सालसम्म पटक–पटक न्यून रकममा सम्झौता गरेको उजुरी परेको थियो ।
केन्द्रीय अनुसन्धान ब्युरोले यस प्रकरणको अनुसन्धान गरी मुद्दा सरकारी वकिलको कार्यालयमा पेस गरेको थियो । २० जनाविरूद्ध ब्युरोले पक्राउ अनुमति लिएको थियो । तर, सरकारी वकिलले मुद्दा नचलाउने निर्णय गरी पठाएको थियो ।
उक्त निर्णय उच्चले पनि सदर गरी महान्यायाधिवक्ता कार्यालयमा पठाएको थियो। कार्यालयले भने मुद्दा चलाउन निर्देशन दिएको हो ।