Logo
Logo

माओवादी ०६४ होइन, ०४८ सालमै फर्किने खतरा


शरद् रिजाल

6.4k
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मध्यपहाडी लोकमार्ग अभियानको क्रममा गत जेठ ६ गते रुकुमपश्चिम पुगेर दिएको नमिठो अभिव्यक्तिले पार्टीको आन्तरिक जीवनलाई तरंगित बनायो । पार्टीमा केही समययता आफूविरुद्ध प्रश्न गर्दै आएका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’को गृह जिल्ला रुकुमपश्चिम पुगेर शर्मालाई लक्षित गर्दै प्रचण्डले पार्टी छाडे पनि फरक नपर्ने आशयको अभिव्यक्तिले माओवादीको आन्तरिक कलह सतहमा ल्याएको छ ।

प्रचण्डले यसअघि माओवादीबाट विभाजित भएर गएकाहरुको उदाहरण दिँदै अझै केही नेता बाहिरिए पनि जनता उनीहरुको पछि नलाग्ने भन्दै शर्मा लक्षित चेतावनीपूर्ण कटाक्ष गरेका थिए । प्रचण्डको उक्त अभिव्यक्तिको आशय बुझेपछि शर्माले प्रचण्ड त्यहाँबाट फर्कदै गर्दा औंला ठड्याएरै त्यसको समीक्षा गर्न सुझाए । यता, प्रचण्डले पनि आफ्नो पुरानै स्वभाव अनुसार आगामी पार्टी बैठकमा समीक्षा गर्ने उधारो आश्वासन दिएर थामथुम पारे ।

प्रचण्डको आम चरित्र बुझ्न उपरोक्त घटना नै काफी छ । यस घटनाले प्रचण्डको आम प्रवृत्ति र उनको अन्तरनिहीत चरित्र दर्शाउँछ । अहिले प्रचण्ड २०६४ को जनमत फर्काउने भन्दै अनेकौं अभियानको नाममा देश दौडाहामा हिँडेका छन् । सरकारबाट बाहिरिएपछि पार्टी बनाउने सपना बोकेर देश दौडाहामा निस्किएका प्रचण्डले भीडको झुण्डलाई पार्टीप्रतिको आकर्षण ठानेका छन् । विचारविहीन झुण्डले संगठन बलियो हुँदैन भन्ने कुरा उनले बिर्सिएका छन् । बढेको सार्वजनिक रुपमा बताउँदै आएका छन् ।

यसअघि तराई–मधेश जागरण अभियान र त्यसपछि मध्यपहाडी लोकमार्ग अभियानमा पनि प्रचण्ड आफैं खटिएर हिँडेका छन् । बिहानको मर्निङवाकले झनै प्रचण्डको स्फूर्ति बढाएकै देखिन्छ । तथापि, पार्टीको आन्तरिक जीवन भने उनको व्यक्तिगत सक्रियताको ठ्याक्कै विपरीत छ । माओवादीको आन्तरिक जीवन अहिले पूर्णतया निष्कृय र गतिहीन छ । भएको साख पनि गुमाउन उनी आफैं उद्यत रहेको रुकुमपश्चिमको अभिव्यक्तिले नै देखाउँछ । पार्टी बलियो बनाउन सर्वप्रथम आन्तरिक पक्ष नै सबल हुनुपर्छ । मजबुद जनाधार भएको क्षेत्रलाई जोगाएर अन्यत्र बलियो बनाउन प्रयत्न गर्नुपर्ने तथ्यलाई नजरअन्दाज गर्दै प्रचण्डले आधार क्षेत्रमै पुगेर त्यहाँकै नेताको अपमान गर्न थालेका छन् ।

माओवादीको बलियो जनआधार भएको क्षेत्र भनेकै रोल्पा रुकुम हुन् । त्यँहा अहिलेसम्म पनि माओवादीकै पक्षमा बलियो जनमत छ । तर, प्रचण्डले भने त्यही पुगेर पार्टीको बलियो जनाधार बनाउन मुख्य भूमिका खेलेका नेताहरुको उपहास गरेपछि उनी पार्टी बनाउन चाहन्छन् कि आफ्नो निजी कम्पनी रु भन्ने प्रश्न अहिले माओवादी वृत्तमा उठेको छ । रुकुमपश्चिम पुगेर नेता विभाजित भए फरक नपर्ने प्रचण्डको शर्मा लक्षित विभाजनप्रेरित अभिव्यक्ति हो । सामान्य राजनीतिक चेत भएको मान्छेले बुझ्ने उक्त अभिव्यक्तिको आशय शर्माले झन् नबुझ्ने कुरै भएन, त्यही भएर उनले प्रचण्डलाई पनि आफ्नो अभिव्यक्तिको समीक्षा गर्न सार्वजनिक रुपमै चेतावनी दिएका थिए ।

यो प्रचण्डको एकाध र संयोगजन्य परिघटना मात्र किमार्थ होइन, उनको नियोजित र योजनाबद्ध रणनीति नै हो । एकातिर उनले ०६४ फर्काउने उद्घोष गरेका छन्, भने अर्कोतिर आफ्नै पार्टीको बलियो जनमत भएको क्षेत्रका नेता चिढ्याउँदै विभाजनकारी हर्कत देखाएका छन् । यस कार्यले उनी ६४ होइन, ४८कै दिशाउन्मुख भएको देखिन्छ । २०४८ सालको आम निर्वाचनमा माओवादीको पूर्ववत घटक तत्कालीन संयुक्त जनमोर्चाले संसदमा तेस्रो स्थानसहित ९ सिट ल्याएको थियो । प्रचण्डको पछिल्लो क्रियाकलापले कतिपय माओवादी नेताहरु आगामी निर्वाचनमा त्यही परिणति दोहोरिने संशय व्यक्त गर्छन् ।

सांगठनिक गतिशिलता र व्यवस्थित सांगठनिक संरचनाले नै पार्टीको निर्दिष्ट लक्ष्य हासिल हुन्छ । सोही अनुरुप पार्टीका सबै संयन्त्र परिचालित भएर जनतालाई समाहित गर्दै अघि बढ्नुपर्ने हो । तर, माओवादी भने पूर्णतया प्रचण्डमै सम्पूर्ण शक्ति केन्द्रीकरण गर्दै उनको एकाधिकारमा चलेको छ । पार्टी जीवनका लागि अत्यावश्यक नेता कार्यकर्ताको उचित मूल्यांकन गरेका छैनन् । भएकालाई समेत बाहिरिन बाध्य पारिएको छ ।

अहिले माओवादीमा केही अपवादबाहेक अधिकांश प्रचण्डको स्तुती गाउने मात्रै छन् । पछिल्लो समय पार्टीलाई लोकतान्त्रिकरण विधिमा रुपान्तरण गर्नुपर्ने मत राखेका उपमहासचिव शर्मालाई प्रचण्डले पार्टीभित्रै निरुत्साहित गर्दै आएका छन् । यसरी प्रचण्ड आफ्ना विगतदेखिका सहकर्मी एकपछि अर्को गर्दै बाहिरिन बाध्य पारे भने भएकालाई समेत निष्कासित गर्ने कुटिल प्रयत्न गरेका छन् । उनको यस प्रवृत्ति नै माओवादी विभाजनको मूल कारक रहेको हालैका यिनै घटनाक्रमले पुष्टि गरेको छ ।

प्रचण्डको निषेधकारी राजनीतिले मोहन वैद्य, बाबुराम भट्टराई, नेत्रविक्रम चन्ददेखि रामबहादुर थापा –बादल०, टोपबहादुर रायमाझीहरु बाहिरिए । कुनै बेला यी सबैको संयोजनले नै माओवादी आकर्षणको केन्द्र थियो । तर, समयक्रममा सबै अलग भएपछि नै माओवादी कमजोर बन्दै गएको हो । त्यसकै उपज ०६४ को २४० सिट अहिले ३२ मा सीमित हुन पुगेको छ । अझै पनि प्रचण्ड त्यसको कुनै परवाह नगरी आफू नै सर्वेसर्वा ठानेर अघि बढेका छन् । उनी अझै केपी ओलीजस्तै ‘म नै राज्य हुँ’ को शैलीमा माओवादी भनेको आफू र आफ्ना आसेपासे मात्रै भएको भ्रम पालेर बसेका छन् । तर कटु सत्य के हो भने माओवादीको शीर्ष तहमा रहेका नेताहरु, जो प्रचण्डबाट अलग भए त्यसपछि नै ओरालो यात्रा सुरु भएको हो ।

यद्यपि, विभाजित भएर गएकाहरुले पनि बलियो उपस्थिति कायम राख्न सकेनन् । तर, तिनै नेताहरुको संयोजन र सामूहिकताबाट आर्जेको शक्तिले नै माओवादीको ओज कायम गरेको थियो । उनीहरुको बहिर्गमन सँगै माओवादीको रापताप र शक्ति हराउँदै गएर कमजोर भएको अहिले पुष्टि हुँदैछ । तर, यसको प्रचण्डलाई कुनै हेक्का छैन । उनी यसबारे आत्मआलोचना गरेर उनीहरुलाई फर्काएर बलियो पार्टी बनाउन समेत चाहँदेनन् ।

उल्टै आफूसँगै भएकालाई समेत विभाजित भए पनि फरक नपर्ने दम्भ प्रदर्शन गरेर ६४ फर्काउने दिवास्वप्नमा छन् । अहिलेसम्म आफ्नो स्थायी निर्वाचन क्षेत्र समेत बनाउन नसकेका प्रचण्डले रुकुम पश्चिम पुगेर शर्मालाई पार्टी छाड्न दुरुत्साहित गर्नु ‘मुखमा राम राम बगलीमा छुरा’कै चरित्रमा अघि बढेको प्रष्ट हुन्छ । उनको यस्तो रवैयाले माओवादी ०६४ मा फर्कने होइन, अहिलेकै ३२ सिट पनि जोगाउन समेत मुस्किल पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्