Logo
Logo

नाडाका अध्यक्षमाथि गम्भीर आरोप


756
Shares

काठमाडौं । नेपाल अटोमोबाइल्स व्यवसायीको छाता संस्था अटोमोबाइल्स एसोसियशन अफ नेपाल (नाडा)भित्रको विवाद चुलिएको छ । नाडाका पदाधिकारीबीच एकले अर्कासँग स्पष्टीकरण सोध्ने र बुझाउनेसम्मको काम भएको छ ।

केही समयअघि वरिष्ठ उपाध्यक्ष (सदस्यमा घटुवा गरिएका) आकाश गोल्छा पक्षले पत्रकार सम्मेलन गरेर अध्यक्ष करण चौधरीले एकलौटी रुपमा संस्था चलाउन खोजेको आरोप लगाएका छन् । साधारणसभाबाट चुनिएका वरिष्ठ उपाध्यक्ष र सदस्यहरूलाई विधान विपरित सदस्यमा झारिदिएको विषयमा आपत्ति जनाएका थिए । उनीहरूले अध्यक्ष चौधरीले मनोमानी गर्न नछोडे अविश्वासको प्रस्ताव ल्याउने, विशेष साधारणसभा माग गर्ने र अध्यक्षले बहुमत सदस्यको माग बमोजिम काम नगरे कालोमासो दल्नेसम्मको चेतावनी दिएका थिए ।

त्यसपछि अध्यक्ष चौधरीले आकाश गोल्छा, सुनिल रिजाल, प्रदीपमान प्रधान र सन्जय खेतानलाई स्पष्टीकरण सोधेका थिए । महासचिव सुरेन्द्रकुमार उप्रेतीमार्फत असार ३ गते सोधिएको स्पष्टीकरणमा चारै जनालाई लिखित स्पष्टीकरण पेश गर्न भनिएको थियो । उनीहरूलाई सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न भनिएको थियो ।

त्यसपछि चारै जनाले असार ९ गते स्पष्टीकरण बुझाए् । गोल्छा, रिजाल, प्रधान र खेतानले स्पष्टीकरण बुझाउँदै उल्टै प्रश्न गरेका छन् । जवाफमा उनीहरूले नाडाको विधान नै अध्ययन नगरी आफूहरुलाई स्पष्टीकरण सोधिएको भन्दै उल्टै विधानको उलंघन गरेको कसुरमा कारबाही गर्नुपर्ने माग गरेका छन् ।

कार्यसमिति बैठक बिना नै अधिकार क्षेत्रभन्दा बाहिर गएर स्पष्टिकरण सोधिएको भन्दै उनीहरुले त्यसको कुनै औचित्य नरहेको समेत दाबी गरेका छन् । ‘यसरी स्पष्ट रुपमा विधानको उलङ्घन गर्दै गरिएको कार्यका लागि तपाई स्वयम् माथि नै कारबाहीका लागि हामीले कार्यसमितिमा प्रस्ताव किन नलाने ?’ जवाफमा महासचिवलाई उल्टै प्रतिप्रश्न गरिएको छ ।

यसअघि नाडाले सोधेको स्पष्टिकरणमा गोल्छा र रिजाललाई केन्द्रीय कार्यसमिति सदस्यबाट हटाउने र प्रधान र खेतानलाई ६ महिनाका लागि निलम्बन गर्ने चेतावनी दिइएको थियो ।

पछिल्लो समय वरिष्ठ उपाध्यक्ष आकाश गोल्छापक्ष अध्यक्ष करण चौधरीले आफूलाई वरिष्ठ उपाध्यक्षबाट सदस्यमा घटुवा गरेको र नाडाका कामकारबाहीमा समेत व्यक्तिगत तरिकाले गर्ने गरेको भन्दै असन्तुष्ट छन् । त्यही असन्तुष्टि पोख्दै आकाश पक्षका सुनिल रिजालले सार्वजनिक रुपमा अध्यक्ष चौधरीविरुद्ध अभिव्यक्ति दिएका थिए । अहिले गोल्छा पक्षका व्यवसायीहरूलाई एक्लाउने प्रयास भइरहेको देखिएको छ ।

उसो त, नाडाको विकल्पमा अहिले नयाँ संगठन नाइमा सक्रिय भएको छ । नाडालाई फुटाएर गठन भएको नाइमाले अझै पनि नाडामा भाँडभैलो मच्चाउनका लागि भूमिका खेलिरहेको आरोप लाग्दै आएको छ । यस विवादको जड भने ४७ औं साधारणसभा हो । नाडाको ४७औं साधारण सभाबाट वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरेर गोल्छालाई भाबी अध्यक्ष बनाउने प्रतिबद्धता गरिएको थियो ।

तर, उक्त प्रतिबद्धताअनुसार विधान संशोधन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अस्वीकार गरेपछि नाडामा विवाद चर्किएको थियो । नाडा अध्यक्ष चौधरीले कुनै सल्लाह नगरी हठातमा गोल्छालाई सदस्यमा घटुवा गरेका थिए । त्यसपछि यो विवादले लामो रुप लिएको हो । जिल्ला प्रशासनमा पनि चौधरीकै प्रभाव रहेकाले गोल्छालाई अध्यक्ष बन्न नदिन षडयन्त्र गरिएको समाचार स्रोतले बताएको छ । एकातर्फ फुटिसकेको नाडा अर्कोतर्फ फेरि विवादै विवादमा फस्दै गएको छ ।

नाडाका सदस्यहरू ठूला भनिएका व्यवसायीहरू स्वार्थको द्वन्दमा लागेकाले नाडाको भविष्य संकटमा पर्न थालेको बताउन थालेका छन् । उनीहरूले अहिले नाडा फुटेर नाइमा बनेको भन्दै अब फेरि फुट्न सक्ने समेत संकेत गरेका छन् ।

नाडाले आगामी भदौ ३ देखि ८ गतेसम्म १७औं संस्करणको नाडा अटो शो २०२५ आयोजना गर्ने घोषणा यसअघि नै गरिसकेको छ । अटोमोबाइल व्यवसायीहरूको महामेलाका रुपमा लिइने त्यो अटो शोको तयारी गर्नुको साटो नाडाका पदाधिकारीहरू अहिले विवादमा अल्झिएका छन् ।

प्रतिक्रिया दिनुहोस्