Logo
Logo

गभर्नरको सम्पत्ति श्रीमतीको नाममा


1.2k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले हालै सम्पत्ति विवरण सार्वजनिक गरे । मुलुककै ढुकुटी र बैंकहरूको पनि बैंकको नेतृत्व गर्ने गभर्नरको सम्पत्तिमा सबैको चासोे छ । उनको सम्पत्ति विवरण हेर्दा पौडेलको सम्पत्ति आकर्षक देखिन्छ ।

२०८२ जेठ ६ गते गभर्नर नियुक्त भएका पौडेलले हाइड्रपावर र बैंकको सेयरमा लगानी रहेको समेत उनले सम्पत्ति विवरणमा सार्वजनिक गरेका छन् । पौडेलको ललितपुरस्थित भैंसेपाटीमा घर र जग्गा साथै नवलपसारीको गैंडाकोटामा पनि घर र जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । पौडेसँग सुन र हिराको गहन पनि रहेको छ ।

सम्पूर्ण सम्पत्तिको स्रोत पैतृक र स्वआर्जन भएको गभर्नर पौडेलले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । उनको घरजग्गा श्रीमतीको नाममा रहेको विवरणमा उल्लेख गरिएको छ । त्यस्तै अन्य सम्पत्तिहरु भने श्रीमती र आफ्नो नाममा रहेको विवरणमा देखिन्छ ।

पौडेलले गैरआवसीय नेपालीहरुले प्रवद्र्धन गरेको सानिमा ग्रुप अन्तर्गतको सानिमा बैंक, सानिमामाई हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावरको सेयरमा लगानी गरेका छन् ।

पौडेलको नाममा सानिमा बैंकको २ लाख ४४ हजार १७६ कित्ता संस्थापक सेयर रहेको विवरणमा उल्लेख गरिएको छ । यस्तै सानिमामाई हाइड्रोपावरको ९२ हजार ५७९ कित्ता सेयर, सानिमा मिडिल तमोर हाइड्रोपावरको १ लाख ८८ हजार कित्ता सेयरमा गभर्नर पौडेलको लगानी छ ।

गभर्नर पौडेल ग्लोबेको प्रालिको प्रवद्र्धको रुपमा १ लाख ८६ हजार ८३४ कित्ता र श्रीमती प्रतिभा शर्माको नाममा ७५ हजार कित्ता सेयर छ । त्यस्तै गभर्नर पौडेलकै नाममा संयुक्त उर्जा हाइड्रोपावरको प्रवद्र्धकको रुपमा ५ लाख कित्ता सेयर छ । यस्तै चितवन इनर्जी लिमिटेडको प्रवद्र्धकको रुपमा २ लाख ५० हजार कित्ता सेयर छ ।

गभर्नर पौडेलेको घर र जग्गा भने श्रीमती प्रतिभा शर्माको नाममा छ । ललितपुरको साविकको सैंबुमा ५ आना २ दाम जग्गा र सोही जग्गामा बनेको २७९५ वर्गफिटको घर छ । त्यस्तै नवलपसारीको गैंडाकोटमा २ कित्ता जाग्गा र २५०० वर्गफिटको घर छ ।

गैंडाकोटमा एउटा कित्ता जग्गा १ कठ्ठा २ धुर २ कुनुवा र अर्को कित्ता ४ कठ्ठा १ धुर ३ कुनुवा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ । ललितपुरको घर र जग्गा १ कराड ५५ लाख रुपैयाँ तथा गैंडाकोटको घर र जग्गा ६० लाख रुपैयाँमा खरिद गरेको पौडेलले उल्लेख गरेका छन् । उक्त सम्पत्ति पैतृक र स्वआर्जनबाट जोडेको विवरणमा उल्लेख छ । पौडेलसँग सुनका गहना करिब ४५ तोला र १५ लाख रुपैयाँमा खरिद गरेको हिराका गहना रहेको सम्पत्ति विवरणमा जनाइएको छ ।

सानिमा बैंकमा गभर्नर पौडेलको नामको खातामा १३ लाख २३ हजार १९२ रुपैयाँ ५८ पैसा माज्दात रहेको उल्लेख छ । त्यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खातामा २ लाख ५९ हजार ३४४ रुपैयाँ, सानिमा बैंककै डलर खातामा ६६.७८ अमेरिकी डलर छ ।

श्रीमती प्रतिभा शर्माको सानिमा बैंकमा रहेको खातामा १२ हजार ५४७ रुपैयाँ, प्रभु बैंकको खातामा ४ लाख ७३ हजार ८२४ रुपैयाँ र सानिमा बैंकको डलर खातामा ४४४६.५८ अमेरिकी डलर रहेको छ । बैंक खातामा रहेको सबै सम्पत्ति स्वआर्जन रहेको विवरणमा उल्लेख गरिएको छ । यस्तै २०७७ भदौमा किनेको ४४ लाख रुपैयाँ मूल्यको सुजुकी कार पनि सम्पत्तिको रुपमा रहेको पौडेलेको सम्पत्ति विवरणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्