काठमाडौं । देशभरका सडक अस्तव्यस्त भैरहँदा सात वर्ष देखि नेपाली जनताले पीडा भोग्दै आएको पूर्व–पश्चिम अन्तर्गत राजमार्गको बुटवल नारायणघाट अझै कम्तीमा दुई वर्ष नबन्न्ने भएको छ । ठेकेदार कम्पनीले यस खण्डमा स्तरोन्नती गर्न करिब डेढ वर्ष म्याद थप गर्न प्रस्ताव गरेसँगै यस्तो अवस्था देखिएको हो । भौतिक पूवाधार तथा यातायता मन्त्रालयका पदाधिकारीहरूले ठेकेदार कम्पनीलाई यो सडकलाई अब ११ महिना म्याद थप गर्ने र नसकिएको भन्दै फेरी अर्को पटक पनि म्याद थप गर्ने गरी प्रकृया अघि बढाएका छन् ।

यसपटक म्याद थप हुँदा यस खण्डको सडक निर्माणका लागि यो चौथो म्याद थप हुने छ भने अर्को पटक म्याद थप गर्दा पाँचौ पटक हुनेछ । थपिएको म्याद भित्र काम पूरा भयो भने पनि त्यस खण्डमा यात्रा गर्ने यात्रुहरू अझै कम्तीमा दुई वर्ष सास्ती भोग्नु पर्ने छ । जुन सास्ती अहिले भोगीरहेका छन् ।
बुटवल–नारायणघाट खण्ड दुई खण्डमा बाँडिएको छ । पूर्व खण्डको म्याद आगामि साउन ६ (जुलाई २१) गते र पश्चिम खण्डको म्याद आगामि साउन ८ ( जुलाई २३) गते सकिदै छ । ठेकेदार कम्पनीले २०२६ डिसेम्बरसम्म म्याद थप गर्न प्रस्ताव गरेको थियो । ११ महिना मात्र २०२६जुन ( २०८३ असार) सम्म म्याद थप गर्ने विषयमा छलफल भैइरहेको आयोजना निर्देशनालय (एडिवि)का एक कर्मचारीले भने ।
११ महिना म्याद थप गर्ने हो भने मन्त्रालयले १÷२ वटा शर्त राखेको छ । तर त्यो के शर्त हो भने खुलाएको छैन । एक वर्ष अघि नै सकिनुपर्ने ठेक्कामा मन्त्रालयका कर्मचारीको मिलेमतोमा आर्थिक दायित्व र भार थप हुने गरी ठेक्काको म्याद थपिदै आएको छ । ठेकेदार कम्पनीले कोरनाको कारण ३ वर्ष काम हुन नसकेको आधार पेश गरेको छ । यस खण्डमा अहिलेसम्म ६९ प्रतिशत प्रगति काम पूरा भएको छ ।
यो आयोजना पूरा गर्न सरकारले अहिलेसम्म तीन पटक म्याद थपिसकेको छ । १७ अर्ब दुई करोड रुपैयाँमा यो खण्डको स्तरोन्नतिका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङसँग पहिलो पटक २०१८ डिसेम्बर १९ मा सम्झौता भएको थियो । तेस्रो पटक थपिएको म्यादअनुसार २०२५ जुलाई २३ भित्र यो खण्डको काम सकिनुपथ्र्यो ।
अहिलेसम्म ५२ प्रतिशतको हाराहारीमा मात्र भौतिक प्रगति भएको र अन्य प्रगति १७ प्रतिशत भएको बताइएको छ । ११३ किलोमिटर लामो यो खण्डलाई दुई भागमा वर्गीकरण गरी स्तरोन्नतिको काम थालिएको हो । पूर्वी खण्ड ६४ दशमलव ४२५ र पश्चिम खण्ड ४८ दशमलव ५३५ किलोमिटरको छ । सडक विभागअन्तर्गत एसियाली विकास बैंक (एडिबी) निर्देशनालयबाट यो आयोजना सञ्चालन भइरहेको छ । यो आयोजनालाई एडिबीले सहयोग गरेको छ ।
ठेकेदार कम्पनी चिनियाँ भएकाले यो दुई देशको कूटनीतिक मामिलाको विषय पनि भएको छ । यसअघि यस खण्डमा यात्रा पूरा गर्न तीन घण्टा हाराहारी लाग्थ्यो । अहिले यस खण्डामा यात्रा गर्न ८ घण्टा देखि दिनभरी नै लाग्न सक्छ । यो आयोजना अलपत्र हुनुमा ठेकेदार कम्पनीको ढिलासुस्ती त छ नै, त्यसमाथि विभागको पनि कमीकमजोरी छ ।
समयमा साइट क्लियर भएन, रुख कटान गर्न कम्पनीले ठुलो झन्झट बेहोर्नुर्पयो। बिजुलीका पोल सार्ने काम ढिलो भयो। योभन्दा पनि ठुलो सास्ती ठेकेदार कम्पनीले निर्माण सामग्री बेलैमा पाउन सकेन। स्थानीय तहले निर्माण सामग्री निकाल्न नदिँदा कम्पनीले कठिनाइ भोग्नुप¥यो । यसका लागि विभागले ठेकेदार र स्थानीय तहसँग सहजीकरण गर्न नसकेको पक्ष पनि रहेकाले ढिला भएको बताइएको छ । ‘जति ढिला भयो त्यतिनै कर्मचारीलाई फाइदा हुने भएकाले यस्ता सडक आयोजनाहरु निर्माणमा लम्ब्याउने गर्छन’, भौतिक मन्त्रालयका एक कर्मचारीले भने ।
उता बुटवल–नारायणघाट सडकमध्ये दाउन्ने खण्ड सबै भन्दा अस्तव्यस्त सडक हो । यस खण्डको दूरी १४ किमि मात्र छ । तर यो खण्ड छिचोल्न सवारी साधनलाई पाँचदेखि ६ घण्टा देखि दिनभरी लाग्छ । कहिलेकाँही एक दिनले मात्र पुग्दैन । पानी परेको बेला २÷३ दिन नै लाग्छ । दाउन्ने खण्ड एउटा सानो पहाड हो । स्तरोन्नतिको नाममा उक्त सडकभर ठाउँठाउँमा खाल्डा खनिएका छन् ।
बाटो पिच गर्ने र कल्र्भट गराउने भन्दै बाटोभरि ठाउँठाउँमा डोजरहरूले माटो निकल्ने गरेको देखिन्छ । खाल्डा खन्ने, डोजरले माटो निकाल्ने गरिएको लामो समय भइसकेको छ । तर काम सकिएको छैन । सवारीसाधन घण्टौंदेखि जाममा पर्ने गरेका छन् । हिउँद याममा बाटोवरिपरिका घर, होटल तथा पसल धुलोले छापिएका हुन्छन भने वर्षा याममा बाटोभरी हिलो नै हिलो हुन्छ । हिलोमा चिप्लिएर सवारी साधान दुर्घटना पर्नु सामन्य नै भइसकेको छ ।
पटकपटक हिलोमै सवारी अड्कने गरेका छन् । पिचको नामोनिसान छैन । यस खण्डामा यात्रा गर्ने यात्रुहरूले मात्रै सास्ती भोगेका छैनन, स्थानीयले पनि उत्तीकै दुःख भोगका छन् । यस्तो लाग्छ, त्यहाँ सरकार नै छैन । यसबाट सवारीसाधन बिग्रने सम्भावना धेरै हुन्छ । सडक असुरक्षित हुँदा सवारी दुर्घटनाको संख्या बढेको बढ्यै गरिरहेको छ । दुई पांग्रे सवारीले झनै ठुलो सास्ती भोग्ने गरेका छन् । दाउन्ने सडकलाई दुई खण्डमा बाँडिएको छ । नारायणघाट–बुटवल सडकको पूर्वी खण्डले ४ किमि र बाँकी १० किमि पश्चिम खण्डले हेर्ने गरेको छ । उता भक्तपुरदेखि पाँचखालसम्म्को अरनिको राजमार्गको हालत पनि उस्तै छ ।











