Logo
Logo

कालोसूचीमा प्रचण्डका घरबेटी


2.1k
Shares

काठमाडौं । काठमाडौं नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका घरबेटीका रुपमा परिचित विवादास्पद ठेकेदार शारदा प्रसाद अधिकारीको खुमलटारस्थित निवासमा प्रचण्ड करिब एक दशकदेखि बस्दै आएका छन् । अधिकारी विभिन्न सडक आयोजना ठेक्कामा लिँदै काम नगरी बारम्बार कालो सूचीमा परेर निर्माण प्रक्रियामै सहभागी हुन नपाउने गरी बञ्देज लगाइएका विवादास्पद ठेकेदार हुन् ।

प्रचण्डका घरबेटी अधिकारीको निर्माण कम्पनी शैलुग कन्स्ट्रक्सनले विभिन्न आयोजना निर्माणको ठेक्का लिएर समयमै काम सम्पन्न नगरेर्रे पटक पटक कालोसूचीमा पर्दै आएको छ । यसअघि उनको कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले तीनवर्षसम्म काम गर्न समेत प्रतिबन्ध लगाएको थियो ।

अधिकारीको शैलुङ कम्पनीले ठेक्कामा लिएर वर्षौंदेखि अलपत्र पार्दै आएको भक्तपुर–नगरकोट–सिपाघाट सडक, त्रिशुली–छहरे–रविदुर सडक, तीनपिप्ले–सिसडोल सडक अलपत्र छन् । उनको कम्पनीले समयमै काम नगर्दा त्यस क्षेत्रम हिलाम्य र धुलाम्य भएर दुर्घटनाको जोखिम बढ्नुका साथै त्यहाँका स्थानीय बासिन्दाले दिनहु सास्ती खेप्दै आएका छन् ।

यसबाहेक उनले अन्य ७० भन्दा बढी सानाठूला निर्माण आयोजना ठेक्कामा लिएका छन् । ती आयोजनामध्ये अधिकांशको काम पटक पटक म्याद थप्दा पनि अलपत्र पारेपछि कालोसूचीमा परेको उनको निर्माण कम्पनीलाई तीन वर्ष काम गर्न समेत बञ्देज लगाइएको हो ।

देशका विभिन्न स्थानका सडक ठेक्क्mामा लिएर पेश्की दुरुपयोग गर्दै ठेक्का अलपत्र पारेर कालोसूचीमा परेका उनै अधिकारीले बैंकको ऋण तिर्न नसकेपछि घरजग्गा समेत लिलामी प्रक्रिया अगाडि बढेको छ ।

अधिकारीले नबिल बैंकबाट ऋण लिएर समयमा सावा ब्याज नतिरेपछि उपत्यकाका पाँच ठाउँमा रहेका उनका अचल सम्पत्ति समेत बैंकले रोक्का गरेर लिलामी गर्न थालेको हो । गत वर्ष माघमा उनको घरजग्गा लिलामी प्रक्रिया अघि बढाएको सूचना नबिल बैंकले सार्वजनिक गरेको थियो । त्यसलगत्तै बैंकले लिलामी प्रक्रिया अघि बढाएर पाँच स्थानको जग्गा मध्ये दुई ठाउँको जग्गा आफ्नो मातहतमा लगेर लिलामीमा बिक्री गरिसकेको छ ।

अधिकारीले नबिल बैंकबाट ऋण लिएर समयमा सावा ब्याज नतिरेपछि उपत्यकाका पाँच ठाउँमा रहेका उनका अचल सम्पत्ति समेत बैंकले रोक्का गरेर लिलामी गर्न थालेको हो । गत वर्ष माघमा उनको घरजग्गा लिलामी प्रक्रिया अघि बढाएको सूचना नबिल बैंकले सार्वजनिक गरेको थियो । त्यसलगत्तै बैंकले लिलामी प्रक्रिया अघि बढाएर पाँच स्थानको जग्गा मध्ये दुई ठाउँको जग्गा आफ्नो मातहतमा लगेर लिलामीमा बिक्री गरिसकेको छ ।

अधिकारीका नाममा रहेको ललितपुर जिल्ला प्रशासन कार्यालय नजिकै रहेको ४१ आना, मानभवनमा रहेको पाँचतले घर सहित एक रोपनी जग्गा, स्युचाटारमा साढे दुईतले घरसहित ३.१ आना जग्गा, नैकाप खड्का गाउँमा रहेको ६ आना र खुमलटारमा रहेको ६.५ आना जग्गा बैंकले आफ्नो बनाएको हो । यी मध्ये नैकाप र स्युचाटारको जग्गा लिलाम बिक्री भइसकेको स्रोतले जनाएको छ ।

यस्तै ललितपुरको ४१ आना र खुमलटारको ६.५ आना जग्गा समेत लिलाम बिक्रीको तयारीमा छ । नबिल बैंकले अधिकारीबाट १ करोड १० लाख बराबरको खराब कर्जा उठाइसकेको र अब करिब ७० करोड उठाउन बाँकी रहेको जनाएको छ । स्मरणीय के छ भने प्रचण्ड अहिले बस्दै आएको खुमलटारको घरसँग जोडिएको दुई रोपनी जग्गा समेत अधिकारीले बैंकमा धितो राखेर ऋण लिएका छन् । त्यसको पनि सावा व्याज असुल उपर हुन नसकेको स्रोतले जनायो ।

प्रचण्ड भने यति विवादमा आउँदा समेत अधिकारी निवास खुमलटार नछाड्ने अड्डी कसेर बसेका छन् । यसले अधिकारीप्रति उनको अतिरिक्त मोह रहेको देखाउँछ । पटक पटक घरबेटीकै कारणले विवादमा आउँदा पनि उनी अधिकारीको घर छाड्न तयार नहुनुले कतै प्रचण्डकै संरक्षणमा उनले निर्वाध रुपले यस्ता हर्कत गरिरहेका त छैनन् भन्ने प्रश्न उठेको छ । प्रचण्डको विवादास्पद घरबेटी अधिकारीप्रतिकोे मोहले समग्र माओवादी नेता कार्यकर्ताको समेत शिर निहुरिएको छ ।

यिनै विवादास्पद ठेकेदार अधिकारीको घरमा निरन्तर बस्दै आएपछि प्रचण्डको पार्टीभित्र र बाहिर आलोचना हुँदै आएको छ । तर, माओवादी अध्यक्ष प्रचण्ड भने जतिसुकै विवादमा आएर आफू नै त्यसमा जोडिए पनि अधिकारी निवासप्रति मोह भंग हुन नसकेपछि माओवादी नेता कार्यकर्ताहरूले उक्त सम्पत्ति नै प्रचण्डकोभएको आशंका गरेका छन् ।

प्रचण्ड अधिकारीको सम्बन्धका सूत्रधार भने दिवंगत माओवादी नेता पोष्टबहादुर बोगटी हुन् । बोगटीले आफ्नै गृहजिल्ला नुवाकोटका अधिकारीलाई प्रचण्डसँग चिनजान गराएका थिए । बोगटीकै कारण प्रचण्डकोमा आउजाउ गर्दै अधिकारीले उनैमार्फत निकटता बढाएका हुन् ।

प्रचण्ड भन्दा पनि अधिकारीले उनका छोरा स्वर्गीय प्रकाश दाहालसँग निकट सम्बन्ध बनाएको त्यतिबेला माओवादीमा चर्चा थियो । अधिकारीले प्रचण्डपुत्र प्रकाशलाई प्रभावमा पारेर उनैमार्फत बुबा प्रचण्डसँग सम्बन्ध मजबुद बनाएको जानकारहरु बताउँछन् । प्रकाशको निधन भएपछि मात्रै अधिकारीको आग्रहमा प्रचण्ड लाजिम्पाटबाट खुमलटारस्थित अधिकारी निवासमा सरेका हुन् । त्यसयता प्रचण्डसँग अधिकारीको अटुट र घनिष्ठ सम्बन्ध रहँदै आएको छ । यसमा दुबैको आ–आफ्ना स्वार्थले काम गरेको बताइन्छ ।

प्रचण्डलाई आर्थिक सहयोग गर्नेदेखि प्रचण्ड बस्दै आएको उनको निवास खुमलटारको व्यवस्थापन समेत अधिकारी आफैंले गर्ने गरेको स्रोत बताउँछ । त्यसकै उपज अधिकारी जतिसुकै विवादमा आएर बदनाम भए पनि प्रचण्ड उनकै निवासमा स्थायी रुपले बस्दै आएका छन् ।

प्रचण्डबाहेक अधिकारीले उनको परिवासँग समेत पारिवारिक सम्बन्ध कायम गरेको बताइन्छ । प्रचण्डका भाई पर्ने राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल र उनको परिवारसँग पनि अधिकारीको निकट सम्बन्ध रहेको जानकार स्रोत बताउँछ । राष्ट्रियसभा अध्यक्ष हुनुअघि नारायण दाहालका समेत भरपर्दा सारथि अधिकारी रहेका थिए । अहिले पनि राष्ट्रियसभा अध्यक्ष नारायण दाहालका छोरा समीरसँग अधिकारीको व्यावसायिक साझेदारी रहेको समेत चर्चा छ ।

यसअघि उनै राष्ट्रियसभा अध्यक्ष दाहालका नाति समीरका छोराको बिहे गोकर्ण रिसोर्टमा भव्य ताझामका साथ गरिएको भन्दै माओवादीभित्र निकै आलोचना भएको थियो । त्यसको चाजोपाजो समेत यिनै अधिकारीले मिलाएको माओवादी वृत्तमा निकै चर्चा चलेको थियो । राष्ट्रियसभा अध्यक्ष नारायण दाहालका छोरा समीर लामो समय प्रचण्डको स्वकीय सचिव रहेका थिए । त्यहाँबाट बाहिरिएर उनले आफ्नै व्यवसायमा हात हालेका छन् । उनको अहिले काठमाडौंमै करोडौंका घरजग्गा जोडेको सञ्चारमाध्यममा समाचार सार्वजनिक भएको थियो ।

प्रचण्डले आफू र आफ्नो परिवारसँग निकट सम्बन्धमा रहेकाले अधिकारीले जतिसुकै बदमासी र गैरजिम्मेवारपूर्ण काम गरेपनि काखी च्याप्दै आएको माओवादी स्रोत बताउँछ । ठेक्का लिएर समयमै निर्माण सम्पन्न नगरेर कालोसूचीमा पर्नेदेखि बैंकको ऋण नतिरेर घरजग्गा लिलामी हुँदा समेत प्रचण्ड उनीप्रति उदार रहनुमा यस्तै अन्तरनिहीत सम्बन्धले प्रमुख भूमिका खेलेकोे बताइन्छ ।

माओवादी नेताहरुले केही समयअघि पार्टी बैठकमै विवादास्पद ठेकेदारको घरमा बस्नु भन्दा बरु पैसा उठाएर नयाँ घर किनिदिन्छौं भनेर व्यंग्य गर्दा प्रचण्डले नयाँ घरमा सर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तथापि, अधिकारीमोहले उनी अन्यत्र सर्न चाहेनन् । अहिले पनि अनेकौं आलोचनाका बाबजुद उनी खुमलटारस्थित अधिकारी निवासमै रमाएर बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्