काठमाडौं । तिब्बतबाट आएको बाढीले प्रभावित व्यक्तिहरूको उद्धारमा खटिएका सशस्त्र प्रहरी बलका एक कर्मचारी घाइते भएपछि उनको उद्धार कार्य जारी छ ।

गोसाइँकुण्ड गाउँपालिका–३, लिङलिङ भिरमा फसेका प्रहरी सहायक हवल्ददार विशाल थापाको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार प्रयास भइरहेको छ ।
सशस्त्र प्रहरीको २ नम्बर गुल्मबाट खटिएको टोलीका सदस्य थापा खोँचमा खसेर घाइते भएका थिए । उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिएको छ । अवतरण स्थल अभावका कारण हेलिकप्टरबाट डोरीको सहायताले उनलाई तान्ने प्रयास भइरहेको जनाइएको छ ।
यसअघि मङ्गलवार त्रिशूली नदीको रुखमा फसेका दुई जनाको पनि सोही तरिकाले उद्धार गरिएको थियो । घाइते थापालाई उद्धार गरी सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा उपचार गरिनेछ।














