काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले सांसद सोविता गौतमले नबोलेको कुरालाई लिएर अनावश्यक विवाद सिर्जना गरिएको बताएका छन् ।

संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सांसद गौतमले प्रधानमन्त्रीसँग गएको भनिएको नभई ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी भएर गएकाहरू नफर्किएको विषय उठाएको स्पष्ट पारे ।
‘रास्वपा अनुसन्धान गर्ने निकाय होइन, हामी राजनीतिक दल हौँ । अनुसन्धानका लागि राज्यका निकाय छन्, तिनलाई छानबिन गर्न आह्वान गरिएको हो,’ उनले भने, ‘गौतमले नबोलेको कुरालाई लिएर ‘प्रधानमन्त्रीसँग गएका मान्छे फर्किएनन्’ भनेर अनावश्यक हङ्गामा मच्याइयो । उनको भनाइ स्पष्ट छ, जुन उनले आज दुईपटक दोहोर्याइसकेकी छन्।’
वाग्लेले गौतमले प्रधानमन्त्रीको आधिकारिक प्रतिनिधिमण्डलका सदस्यबारे नभई उक्त सम्मेलनमा सहभागी सयौँ नेपालीका बारेमा कुरा उठाएको प्रष्ट्याए । उनले दश वर्षअघि इथियोपियामा भएको तेस्रो सम्मेलनको नेतृत्व आफूले गरेको स्मरण गर्दै ठाउँअनुसार मानिसहरूको भीड लाग्ने गरेको बताए ।
स्पेनलाई मानव तस्करहरूले युरोप प्रवेशको द्वारका रूपमा प्रयोग गरिरहेकाले यो विषयमा छानबिन गर्नुपर्ने उनको भनाइ छ । भिजिट भिसा प्रकरणमा रास्वपाले उठाएको आन्दोलनले मान्यता पाउँदै गएको उनले दाबी गरे ।














