काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्धको भ्रष्टाचार मुद्दाबारे सोही पार्टीका सम्मानित नेता झलनाथ खनालले आफ्नो धारणा व्यक्त गरेका छन् । चीनको ६ दिने भ्रमण पूरा गरी शनिवार स्वदेश फर्किएका खनालले यो विषयमा पार्टीभित्र प्रश्न उठ्न सक्ने बताए ।

खनालले संविधानअनुसार गठित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको नीतिगत निर्णयमा समेत छानबिन गर्नु जायज भएको धारणा राखे । उनले भने, ‘संविधानबमोजिम गठित अख्तियारले मन्त्रिपरिषद्, प्रादेशिक सरकार वा स्थानीय तहले गरेका निर्णयमा अनियमितता भएमा छानबिन गर्नुपर्छ ।’
उनले प्रधानमन्त्री वा विशिष्ट व्यक्तिलाई भ्रष्टाचारजन्य कसुरमा उन्मुक्ति दिन नहुने बताए । ‘कुनै पनि निकायका गलत कार्यलाई छानबिनको दायरा बाहिर राखियो भने राजतन्त्रको आलोचना गर्नुको अर्थ रहँदैन,’ खनालले भने ।
यद्यपि, नेकपा एकीकृत समाजवादी र अध्यक्ष नेपालले अख्तियारले नीतिगत निर्णयमा प्रवेश गरेर भ्रष्टाचार मुद्दा दायर गरेको भन्दै विरोध गरिरहेका छन् ।














