
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नवराज सुवेदीलाई लोकलाजको ख्याल गर्न आग्रह गरेको छ । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले सामाजिक सञ्जालमा सुवेदीको एक भिडियो सेयर गर्दै उनले यस्तो आग्रह गरेका हुन्।
सार्वजनिक रूपमा चैत ४ गते राप्रपा परित्याग गरेको घोषणा गरेका सुवेदीले आफू राप्रपामै छु भन्न आज निर्वाचन आयोग जाँदै छन्। सोही प्रसंगमा प्रवक्ता श्रेष्ठको यस्तो प्रतिक्रिया आएको हो। फेरि राप्रपामा सक्रिय हुनका लागि सुवेदी आयोग जाने कुरा सही नभएको भन्दै उनले जीवनको उत्तराद्र्धमा इमान नछाड्न सुझाव समेत दिए ।
प्रवक्ता श्रेष्ठले लेखेका छन्, ’आदरणीय नवराज सुवेदी बा, सार्वजनिक रूपमा चैत ४ गते राप्रपा परित्याग गरेको घोषणा गर्नुभएको तपाईं राप्रपामै छु भन्न आज निर्वाचन आयोग जाँदै हुनुहुन्छ रे! लोकलाजको ख्याल गर्नुस् बा, जीवनको उत्तराद्र्धमा इमान नछाड्नोस्! तपाईँ राप्रपामा फेरि सक्रिय हुन सक्नुहुन्छ तर बाटो त्यता होइन है !’
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अनुशासन समितिको अध्यक्ष पदबाट सुवेदीलाई हटाएपछि सो पार्टीमा असन्तुष्टि बढ्दै गएको छ । सुवेदी हाल हिन्दुराष्ट्र र राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक छन् । उनकै नेतृत्वमा केहि समयअघि राजसंस्थाको पक्षमा काठमाडौंमा आन्दोलन भएका थिए ।














