काठमाडौं । जनमतका निलम्बित केन्द्रीय उपाध्यक्ष दीपक साहमाथि बारामा जनमतकै नेताले कालोमोसो दलेका छन् ।
जनसंवाद यात्रामा रहेकाबेला बारा जिल्लाको गढीमाई नगरपालिका-३ दहियाचोकमा बिहान ११ बजे जनमतका केन्द्रीय सदस्य विकास सिंहको नेतृत्वमा उनीमाथि कालोमोसो दलको हो ।

निलम्बित उपाध्यक्ष साहको नेतृत्वमा शुक्रबारदेखि जनमतको नेतृत्वबाट असन्तुष्ट पक्षले रौतहटमा जनसंवाद यात्रा सुरु गरेका थिए । पार्टी अध्यक्ष डा। सिके राउतको निर्देशनमा आफूमाथि मोसो छ्यापेको साहको आरोप छ ।
‘जन संवाद यात्राको क्रममा खाना खाएर निस्केको थिएँ । सोही क्रममा अध्यक्ष राउतका निकट विकास सिंहको नेतृत्वमा ममाथि कालोमोसो छ्यापियो’, उनले भने, ‘हामीले संवाद यात्रा थालेपछि बाहिरी ननिस्किन निरन्तर अध्यक्ष निकटबाट धम्की आइरहेको छ ।’
पार्टीमा डा। राउत परिवारवाद लाद्न खोजेको र स्वतन्त्र मधेश गठबन्धकै बेलादेखि संघर्ष गरेर पार्टीलाई यो स्थानमा पु¥याउनेलाई अघि बढ्न नदिन विभिन्न बहानमा अनुशासनको कारबाही तथा फसाउने काम गरिरहेको उनको भानाइ रहेको छ ।
निलम्बित कोषाध्यक्ष सुरेन्द्र नारायण यादव र केन्द्रीय सदस्य वीरेन्द्र साह सोनारको अगुवाइमा पार्टी र पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो र सुदृढ बनाउन अन्तरसंघर्षको रुपमा ‘जनसम्वाद यात्रा’ रौतहतबाट सुरु गरिएको थियो ।














