काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऊर्जा तथा जलस्रोत क्षेत्रका तीन जना विज्ञलाई केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागको विज्ञ सल्लाहकारमा मनोनयन गरेको छ । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार नेपाल सरकारका पूर्वसचिवहरू देवेन्द्र कार्की, सुशील चन्द्र तिवारी र मधु भेटुवाललाई आइतबार औपचारिक रूपमा विज्ञ सल्लाहकारमा नियुक्त गरिएको हो ।

विभाग प्रमुख श्रीराम न्यौपानेले ऊर्जा र जलस्रोत क्षेत्रमा नेपालको दीर्घकालीन समृद्धिका लागि आवश्यक नीतिगत संरचनाको खाँचो रहेको बताए । उनले नेपालको समृद्धिको प्रमुख आधार ऊर्जा र जलस्रोत भएको उल्लेख गर्दै यसको अधिकतम उपयोगका लागि अनुभवी र विज्ञ व्यक्तिहरूको ज्ञान र सीपको सदुपयोग आवश्यक रहेको जोड दिए ।
नियुक्त तीनै जना विज्ञ सल्लाहकारहरूले विगतमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, जल तथा ऊर्जा आयोगलगायतका निकायमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् । रास्वपाले विभिन्न क्षेत्रका विज्ञ, पूर्वसचिव, पूर्वप्रशासक, पूर्वसुरक्षा अधिकृत तथा राष्ट्रिय र सामाजिक जीवनका व्यक्तित्वहरूलाई विज्ञ सल्लाहकारको रूपमा मनोनयन गर्दै आएको छ ।











