
काठमाडौं । विवेकशील साझा पार्टीले संघीय सरकारका दुई मन्त्रीलाई तत्काल कारबाही गर्न माग गरेको छ ।
घुस लेनदेनको अडियो सार्वजनिक रुपमै छताछुल्ल भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई तत्काल कारबाही गर्न माग गरेको हो ।
पार्टी प्रवक्ता आशुतोष प्रधानले सोमबार विज्ञप्ति जारी गरेर मन्त्रीद्वय गुप्ता र भण्डारी भ्रष्टाचार प्रकरणमा मुछिएको र घुस लेनदेनको अडियो छताछुल्ल भइसक्दा पनि उनीहरू पदमै रहिरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै दुबै मन्त्रीलाई तत्काल बर्खास्त गर्न माग गरेका हुन् ।
उनले भनेका छन्, ‘भ्रष्टाचार जस्तो जघन्य अपराधमा मुछिएका दुवै मन्त्रीलाई तत्काल बर्खास्त गरी कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग विवेकशील साझा पार्टी जोडदार माग गर्दछ ।’
जनताको करबाट सिर्जित राज्य सुविधाको उपयोग गरिरहेका मन्त्रीद्वय गुप्ता र अधिकारीमाथि लागेको सार्वजनिक भ्रष्टाचारको आरोप छताछुल्ल भइसक्दा पनि उनीहरूलाई बर्खास्त नगर्नुले भष्टाचारको सुई सरकारको नेतृत्व गरेका प्रधानमन्त्रीमाथि पनि फर्किन सक्ने सम्भावनालाई विवेकशील साझा पार्टीले अन्वेषण गरिरहेको जनाइएको छ ।














