काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले तीन दिनदेखि चर्चामा रहेको घुस प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् ।

कास्की जिल्ला भूमि आयोगको अध्यक्ष नियुक्ति र मालपोत कार्यालयका प्रमुखको सरुवा-बढुवाका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र एक विचौलियाबीच भएको कथित संवादमा मन्त्री अधिकारीको नाम जोडिएको थियो । मन्त्री गुप्ताले उक्त प्रकरणमा अधिकारीले रकम लिइसकेको र अब उनले काम नगर्ने बताएका थिए ।
गुप्ता र विचौलियाबीचको कथित लेनदेनको अडियोमा अधिकारीको नाम आएपछि उनले आफूलाई यसमा नजोड्न आग्रह गरेका हुन् । सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले कास्की जिल्ला भूमि आयोगको अध्यक्ष नियुक्तिको विषयमा कसैले गरेको लेनदेनको कुरालाई आधार बनाएर आफूलाई अनुचित रूपमा मुछिएको बताए ।
उनले हल्ला र अफवाहमा नभई तथ्यमा आधारित भएर सत्यको खोजी गर्न आग्रह गरे । साथै, भूमि आयोगका पदाधिकारी नियुक्तिमा घुस लेनदेनको प्रमाण फेला परे आफू कारबाही भोग्न तयार रहेको उनको भनाइ छ।मन्त्री अधिकारीले भूमिसम्बन्धी विधेयकलाई यथाशीघ्र पारित गर्न संसद्सँग आग्रह गरेका छन् । यता, घुस प्रकरणमा मुछिएको भन्दै मन्त्री गुप्ता र अधिकारीको राजीनामा माग संसददेखि सडकसम्म उठ्न थालेको छ ।














