Logo
Logo

प्रधानमन्त्रीलाई गगनको सुझाव -मन्त्री गुप्तलाई तत्काल बर्खास्त गर्नुस्


4.1k
Shares

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तलाई तत्काल बर्खास्त गर्न सुझाव दिएका छन् । 

कांग्रेसको केन्द्रीय पेशागत तथा बुद्धिजीवी विभागले सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सरकारलाई यस्तो सुझाव दिएका हुन् ।  

‘कार्यक्रममार्फत् बाटै म प्रधानमन्त्रीलाई अनुरोध गर्छु– तपाईँले तत्काल तपाईँको मन्त्रीलाई बर्खास्त गर्नुस्,’ महामन्त्री थापाले भने, ‘यो विषयको छानबिन गर्ने कुरालाई सहज बनाउनुस् ।’

उनले सामान्य प्रशासनमन्त्री गुप्तालाई बर्खास्तमात्रै गरेर मात्रै नहुने बताए । उनले भने, ‘बर्खास्त गरेरमात्रै हुँदैन, यत्तिको कुरा आइसकेपछि यसको दूधको दूध, पानीको पानी हुनुपर्छ । यसको छानबिन हुनुपर्छ । र, यसमा देखिएका, संलग्न भएका अरू को–को छन्, कोही छन् भने कारबाही हुनुपर्छ ।’

उनले आफू देशबाहिर रहेका बेला मन्त्रीको अडियो काण्ड बाहिरिएको र त्यो काण्ड आइसकेपछि आफूलाई प्रधानमन्त्री ओलीले मन्त्रीलाई बर्खास्त गर्लान् भन्ने अनुमान गरेको पनि सुनाए ।  

सत्तारुढ दल नेकपा एकालेकै सांसदहरूले पनि प्रधानमन्त्री ओलीलाई राजकुमार गुप्तालाई  तत्काल बर्खास्त गर्न आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद किरणकुमार साहले मन्त्री गुप्तामाथि लागेको घुस सम्बन्धी आरोपको अडियो सार्वजनिक भएको उल्लेख गर्दै सरकारको मौनताप्रति प्रश्न उठाएका थिए ।

उनले भने, ‘मन्त्री गुप्ताले घुस डिल गरेको अडियो सबैले सुनेका छन्, तर सरकारले नसुने जस्तो गर्नु लोकतन्त्रको अपमान हो । म यो सदनमार्फत माग गर्छु, मन्त्री गुप्तालाई तत्काल बर्खास्त गरी निष्पक्ष छानबिन गरियोस् ।’

प्रतिक्रिया दिनुहोस्