Logo
Logo

ट्रेडमार्क शाखामा चलखेल


2k
Shares

काठमाडौं । उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले विवादास्पद उपसचिव सोम गौतमलाई अनुमति शाखामा सरुवा गरेका छन् ।

उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवाली

उद्योग विभागको अति आकर्षक मानिने शाखाका रुपमा रहेको अनुमतिको निर्देशक बनेका गौतम एक बर्षदेखि ट्रेडमार्क शाखाको निर्देशक थिए । ट्रेडमार्क शाखामा हुँदा प्रतिफाइल १० हजारदेखि १ लाख रुपैयाँसम्म बार्गेनिङ गर्ने आरोप लागेका गौतमलाई ज्ञवालीले पुरस्कृत गरेका छन् । विभागमा सुशासन कायम गरेको दाबी गर्ने ज्ञवालीले गौतमलाई पुरस्कृत गरेर सुशासनको खिल्ली उडाएको विभागभित्रकै कर्मचारीहरु बताउँछन् ।

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीका प्रमुख स्वकीय सचिव आनन्द भट्टलाई साप्ताहिक रुपमा भेटी बुझाउँदैआएका गौतम कांग्रेसनिकट भएर पनि एमालेका मन्त्रीका पालामा उद्योग विभागमा हालीमुहाली गर्दैआएका छन् । डा. मिनेन्द्र रिजाल संचार मन्त्री हुँदा गौतम उनका निजी सचिवका रुपमा कार्यरत थिए । कांग्रेसनिकट भएकै कारण उनलाई रिजालले निजी सचिव बनाएका थिए ।

उद्योग विभागका यसअघिका महानिर्देशक यज्ञराज कोइरालाले कांग्रेसनिकट भएकै आधारमा उनलाई आफूसँगै सेटिङ मिलाउन लगेका थिए । केही समय घरेलु शाखाका निर्देशकका रुपमा काम गरेका उनी त्यसपछि ट्रेडमार्क शाखामा गएका थिए । उनी ट्रेडमार्क शाखामा सरुवा हुनेबित्तिकै उक्त शाखामा बिचौलियाहरु हावी भएका थिए ।

एक बर्ष ट्रेडमार्क शाखा चलाएका गौतम अनुमति शाखामा सरुवा भएपछि विभागका कर्मचारीहरु आश्चर्यमा परेका छन् । उनलाई विभागबाटै हटाउनका लागि मन्त्री भण्डारीसमक्ष दबाब गइरहेको बेला उनकै स्वकीय सचिव भट्ट र महानिर्देशक ज्ञवालीले पुरस्कृत गरेका छन् ।

अनुमति शाखाका निर्देशक सरोज पोखरेललाई ट्रेडमार्क शाखामा सरुवा गरिएको छ । प्रशासन तथा सुविधा शाखाका निर्देशक अर्जुनसेन ओलीलाई यसअघि नै उद्योग मन्त्रालयमा तानेर मन्त्रालयका उपसचिव पशुपतिबाबु पुरीलाई विभागमा लगिएको छ । उनी विभागमा हाजिर नहुँदै गौतमलाई अनुमति शाखामा सरुवा गरेपछि उनी हिस्स परेका छन् । उनी अनुमति शाखा पाउने सर्तमा विभागमा सरुवा भएका हुन् ।

तर ज्ञवालीले हतार हतार आफ्ना प्रियपात्र गौतमलाई अनुमतिमा लगेपछि पुरीको योजना तुहिएको छ । उनी अब सुविधा शाखामै बस्नुपर्ने भएको छ । बिगत ६ महिनाअघि नै उद्योग विभाग जान मन्त्रालयमा सरुवा भएका पुरी विभागमा अनुमति शाखा नपाउने भएपछि मन्त्रालयमै अलमलिएका थिए । अहिले मन्त्रालयले पुरीलाई विभाग पठाएको पत्र पुगेलगत्तै हतार हतार ज्ञवालीले उनले चाहना राखेको शाखामा गौतमलाई जिम्मा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्