Logo
Logo

भिजिट भिसामा स्पेन गएकाहरू फर्किए/नफर्किएको छानबिन गर्न समिति गठन


2.6k
Shares

काठमाडौं । स्पेनको सेभिलामा भएको संयुक्त राष्ट्रसंघीय सम्मेलनमा असम्बन्धित व्यक्तिहरूलाई लैजाने गिरोहको छानबिन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले समिति गठन गरेको छ । 

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होविन्द्र बोगटीको नेतृत्वमा मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक (एसपी) रुगम कुँवरसहित ६ सदस्यीय समिति बनाइएको हो । सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङका अनुसार, सञ्चारमाध्यममा आएका विवरणहरूको जाँच गर्न सीआईबी र मानव बेचबिखन अनुसन्धान ब्यूरोको संयुक्त टोलीलाई जिम्मेवारी दिइएको छ ।

सोमबार दिउँसो १ बजे गृहमन्त्री रमेश लेखकले बोलाएको बैठकमा यो विषयमा प्रहरीमार्फत छानबिन अघि बढाउने निर्णय भएको थियो । बैठकमा प्रहरी महानिरीक्षक दिपक थापा, सीआईबी प्रमुख खापुङ, अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजाललगायत सहभागी थिए । 

उक्त बैठकले असम्बन्धित व्यक्तिहरू सम्मेलनमा गएको हुन सक्ने निष्कर्ष निकालेको थियो । गृहमन्त्री लेखकले विस्तृत छानबिनको निर्देशन दिएका थिए ।  ३० जुनदेखि २ जुलाईसम्म सेभिलामा भएको सम्मेलनमा सहभागी गराउने र त्यहीँ बस्ने प्रलोभन देखाएर रकम असुलेर असम्बन्धित व्यक्तिहरूलाई विदेश पठाइएको हुन सक्ने आशङ्का गरिएको छ । 

त्यस अवधिमा भिजिट भिसामा गएकाहरूको विवरण जाँच गरी फर्किएरनफर्किएको अनुसन्धान हुने र पठाउने गिरोहबारे पनि छानबिन गरिने जनाइएको छ ।

१४ असारमा प्रधानमन्त्री केपी शर्मा ओलीसहितको टोली स्पेन गएको विमानमा विचौलियाले केही व्यक्तिलाई मड्रिड लगेका थिए । संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त ९फाइनान्सिङ अफ डेभलपमेन्ट०’ को चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा गैरसरकारी संस्थाको नाममा वेबसाइटमार्फत उनीहरूको रजिस्ट्रेसन गरिएको थियो । त्यसैका आधारमा दिल्लीस्थित स्पेनको दूतावासबाट भिसा प्राप्त भएको थियो । 

पृष्ठभूमि शङ्कास्पद देखिएपछि ५५ जनाको सूची एयरलाइन्सलाई पठाई उनीहरूलाई रोक्न भनिएको थियो । सोही दिन खानेपानी मन्त्री प्रदीप यादवसहित केही अधिकारीहरू सम्मेलनमा सहभागी हुन स्पेन गएका थिए । त्यस क्रममा धेरै व्यक्तिलाई फर्काइएको थियो । 

प्रतिक्रिया दिनुहोस्