Logo
Logo

‘भ्रष्ट मन्त्रीहरूका कारण अनुहार छोपेर हिँड्नुपर्ने अवस्थामा छौँ’


756
Shares

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले मुलुक चरम ऋणको दलदलमा फस्दै गएको र भ्रष्टाचारले जरा गाडेको भन्दै विजयको गर्जन गर्न लज्जास्पद भएको बताएका छन् । उनले सरकारका मन्त्रीहरू भ्रष्टाचार र घुसमा लिप्त भएको आरोप लगाउँदै सांसद र नेताहरू लाजले अनुहार छोप्न बाध्य भएको बताए ।

‘हामी अनुहार छोपेर हिँड्नुपर्ने अवस्थामा छौँ । धेरै मन्त्री भ्रष्टाचार र घुसमा डुबेका छन्, मैले यो कुरा पहिल्यै उजागर गरेको थिएँ,’ उनले भने । मङ्गलवार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद बजगाईंले शान्ति प्रक्रिया यता मुलुकको ऋणभार २.६११ ट्रिलियन पुगेको र यो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४७.७७ प्रतिशत भएको बताए ।

‘यसमा ९७ अर्ब नयाँ ऋण थपिएको छ,’ उनले भने । उनले प्रदेशहरू विकासको इन्जिन बन्न नसकेर बोझ बन्दै गएको र श्रम पलायनको समस्या तीव्र भएको उल्लेख गरे । ‘हामी ‘गर्छौँ, सक्छौँ’ भन्दै अगाडि बढ्न खोज्छौँ, तर यहाँ भ्रष्टाचार, घुस र ठगीको प्रणालीले जरा गाडेको छ। बोल्नेहरूको गला अवरुद्ध छ,’ उनले भने । 

वर्तमान राजनीतिक परिदृश्यमा सरकारभित्र होस् वा बाहिर, पुराना वा नयाँ दलहरूबीच राष्ट्रिय हितका साझा एजेन्डामा सहकार्यको अभाव रहेको उनको भनाइ छ । नयाँ दलहरूप्रति कटाक्ष गर्दै उनले इजिप्टको एउटा उखान स्मरण गरेस् ‘जब नयाँ राजनीतिक दलको उदय हुन्छ, त्यसमा सबैभन्दा नयाँ भनेको लोगो मात्र हुन्छ ।’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेमाथि सहकारी ठगीको आरोपमा अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा रहेको अवस्थामा जुलुस र हस्ताक्षर अभियान चलाउनु गैरकानूनी भएको उनले टिप्पणी गरे ।

यस्ता गतिविधिले अदालतको आदेशको अवहेलना हुने उनको भनाइ छ । ‘राजनीतिक कारणले कोही जेलमा वा निर्वासित भएमा कार्यवाहक जिम्मेवारी सुम्पिनु उचित हुन्छ । तर, रास्वपाका अध्यक्ष आपराधिक मुद्दामा जेलमा छन्, र पनि उनकै नेतृत्व कायम छ। सुधारको कुरा गर्ने पार्टीले यस्तो आधारभूत जबाफदेहितालाई बेवास्ता गर्नु दुखद छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्