
काठमाडौं । मोरङमा सहकारीबाट लिएको ऋण तिर्ने भनेर कर्मचारीलाई घरमा बोलाई दुव्र्यवहार गर्ने दुई जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पक्राउ पुर्जी जारी हुनेहरुमा मिक्लाजुङ गाउँपालिका–२ निवासी ४२ वर्षीय दुर्गामाया लिम्बु र ३३ वर्षीय माया मगर रहेका छन् ।
उनीहरुले ऋणको भाखा नाघेपछि ऋण तिर्ने भन्दै घरमै बोलाएर सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड मोरङको मधुमल्ला सेवा केन्द्रका प्रमुख रमेश राई र फिल्ड मेनेजर सुशीला लामिछानेमाथि गालीगलौज गर्दै जुत्ताको माला लगाएका थिए ।
मोरङ प्रहरीका अनुसार मगरले जुत्तााको माला लगाएकी थिइन् भने लिम्बुले भिडियो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन् । उक्त भिडियो सामाजिक सञ्जालमा राखिएको भए पनि पछि हटाइएको छ । उनीहरुविरुद्ध अभद्र व्यवहारमा उजुरी दर्ता भएको मोरङ प्रहरीका डिएसपी कोपिला चुँडालले जानकारी दिइन् ।
उनका अनुसार ऋण खाएर नतिरेपछि ताकेता गर्दा उनीहरूले घरैमा छलफलका लागि बोलाएका थिए । घरमा पुगेका कर्मचारीलाई उनीहरूले जुत्ताका माला लगाएर गालीगलौज तथा हातपात गरेका थिए ।
उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भए पनि अहिलेसम्म पक्राउ भने परेका छैनन् । मोबाइल अफ गरेर उनीहरू फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।














