काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बिहीबार दिउँसो १ बजे बस्नेगरी सचिवालय बैठक आह्वान गरिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार साउन २ र ५ गते बस्ने पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको तयारीका सन्दर्भमा सचिवालय बैठक बस्न लागेको हो । एमालेको गत माघ ८ गते बसेको सचिवालय बैठकले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय गरेको छ । त्यसैको तयारीका लागि बैठक बोलाइएको हो ।
यी बैठकमा राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव पेस हुनेछन् । राजनीतिक प्रतिवेदन प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली, सांगठनिक प्रतिवेदन महासचिव शंकर पोखरेल र विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गर्ने सचिवालयले निर्णय गरिसकेको छ ।
विधान संशोधन प्रस्तावमा ७० वर्षे उमेरहद र अध्यक्षका लागि कार्यकालको प्रावधान नराखी मौजुदा विधानमा जे व्यवस्था छ, त्यही लैजाने तयारी भइरहेको छ ।














