काठमाडौं । सत्तारुढ नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सबैभन्दा निकट र विश्वासिलो सम्बन्ध नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग रहेको बताएका छन् ।
वरिष्ठ पत्रकार विजय कुमारसँगको एक अन्तर्वार्तामा उनले पूर्व सहकर्मी तथा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भने ‘धोकेबाज’ का रुपमा चित्रण गरे ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने आफ्नो विरोधी नै नभएको जिकिर गर्दै ओलीले आफ्नो मुख्य राजनीतिक प्रतिस्पर्धी नेपाली कांग्रेस नै भएको उल्लेख गरेका छन् । ‘प्रतिस्पर्धा नेपाली कांग्रेस र हाम्रो बीचमा छ,’ ओलीले भने, ‘तर मेरो सबभन्दा निकट सम्बन्ध शेरबहादुर देउवाजीसँग छ, विश्वासको सम्बन्ध छ ।’ उनले आफ्नो तर्फबाट देउवासँगको सम्बन्ध सधैँका लागि रहने तर देउवाले अन्यथा गरेमा परिस्थिति फरक हुन सक्ने संकेत गरे । प्रचण्डगको सम्बन्धबारे सोधिएको प्रश्नमा उनले भने, ‘स्वर्ग जाने, नर्क जाने सम्बन्ध थियो । उहाँले पनि धेरैपल्ट भन्नु भएको हो, धेरैपल्ट धोका दिनु भएको हो ।’
उनले प्रचण्डसँग पटक–पटक लिखित सहमति भए पनि ती अर्थहीन भएको बताएका थिए । आफ्ना विपक्षीहरूप्रति निर्मम भएको भन्ने आरोपलाई अस्वीकार गर्दै ओलीले आफू प्रतिस्पर्धामा उत्रिने तर व्यक्तिगत रूपमा कसैप्रति त्यस्तो नभएको उल्लेख गरे । आफ्नो कमजोरीबारे सोधिएको अर्को प्रश्नमा उनले आफूले मानिसहरूलाई सजिलै विश्वास गर्ने र कहिलेकाहीँ धोका खाने गरेको बताएका छन् । उनले आफूलाई घेर्ने मानिसहरू छनोट गर्न नआएको भन्ने कुरालाई भने अस्वीकार गरे । ‘सर्कल भनेको मैले विश्वास गरेको निकटवर्तीहरूको मात्रै कुरा गर्दिनँ,’ उनले भने, ‘अलिक परसम्मका सम्बन्धहरूमा पनि मैले विश्वास गर्छु।’











