काठमाडौं । भ्रष्टाचारको छानबिन र कारबाही माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापनपत्र बुझाएको छ । अख्तियार प्रमुखलाई सम्बोधन गरिएको उक्त पत्रमा पार्टी अध्यक्ष राजेन्द्र लिड्देनको हस्ताक्षर रहेको छ ।

‘नेपालमा भ्रष्टाचार महामारीको रूपमा फैलिँदै गएको छ । आयोगको वार्षिक प्रतिवेदन अनुसार मात्र पनि भ्रष्टाचारको उजुरी, मुद्दाको सङ्ख्या र दाबी रकम बढ्दै गएको अवस्थाले यसको पुष्टि हुन्छ’ ज्ञापनपत्रमा उल्लेख छ ।
राप्रपाले सबै प्रकारका भ्रष्टाचारहरूको छानबिन र राजनीतिक नेतृत्व समेतलाई कारबाहीको माग गर्दै अख्तियारमा उजुरी दिएको हो । राप्रपाले २०४६ सालपछिका सबै उच्च पदस्थ नेता, कर्मचारी र उनका नातेदारहरूको समेत सम्पत्ति छानबिनको माग गर्दै उजुरी दिएको हो ।
असार १९ गते बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राप्रपाले भ्रष्टाचार विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।राप्रपाले अख्तियारको प्रदेश कार्यालयहरू, सम्पत्ति शुद्धीकरण विभाग लगायतका भ्रष्टाचार हेर्ने निकायहरूमा समेत चरणबद्ध रूपमा भ्रष्टाचार विरुद्धको दबाबमूलक अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।














