काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन नाडा मा भएको विवाद काठमाडौं सिडिओ कार्यालयसम्म पुगेको छ ।
सिडिओ कार्यालय काठमाडौंले शुक्रवार आज नाडाका दुवै पक्षलाई बोलाएर छलफल गरेको हो ।

छलफलमा विवाद सिर्जना हुनुका परिस्थिति कारण लगायतको बारेमा सिडिओ कार्यालयले जवाफ मागेको थियो ।
अध्यक्ष करण चौधरी पक्षधर आकाश गोल्छा पक्षधर बीच भएको छलफल बिना निष्कर्ष टुङ्गिएको छ ।
चौधरी पक्षधरले विधान विपरीत काम गरेको भन्दै गोल्छा पक्षधरले विद्रोह गरिरहँदा सिडिओ कार्यालयले पनि यसमा चासो देखाएको हो ।
छलफलमा सहभागी एकजनाले गोल्छा पक्षधरले संस्थामा भइरहेको विकृति विसङ्गति र आफ्नो समूहप्रति भएको अन्याय बारे विस्तृतमा बताएका थिए । त्यसपछि सिडिओ कार्यालयले पनि विधान अनुसार नै चल्न पर्नेमा किन नचलेको भन्दै चौधरी पक्षधरलाई प्रश्न गरेको थियो । तर चौधरी पक्षधरका व्यवसायी यसबारे गोलमोटोल जवाफ दिएर पन्छिएका थिए ।
यससँगै सिडिओ कार्यालयले दुवै पक्षलाई छलफल गरेर निष्कर्षमा पुग्न भन्दै बैठक सकाएको छ। तर दुवै पक्ष निष्कर्षमा पुग्ने भन्दा पनि टुटफुटकै श्रृङ्खलामा अगाडि बढ्ने देखिएको बैठकमा सहभागी एक व्यवसायी बताउँछन् ।














