Logo
Logo

धरानमा पानी नआउनुको कारण मेयर साम्पाङ हुन् : मन्त्री प्रदीप यादव


1.1k
Shares

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले धरानका मेयर हर्क साम्पाङका कारण ६ अर्बको खानेपानी आयोजना अघि बढ्न नसकेको आरोप लगाएका छन् । शुक्रवार धरानमा आयोजित सरोकारवाला छलफल कार्यक्रममा मन्त्री यादवले मेयर साम्पाङले एसियाली विकास बैङ्क (एडीबी) को सहयोगमा सञ्चालित आयोजनामा अवरोध गरेको बताए ।

मन्त्री यादवका अनुसार, प्रधानमन्त्री केपी ओली र सुनसरी क्षेत्र नम्बर १ का सांसद अशोक राईको पहलमा धरानको खानेपानी समस्या समाधान गर्न ६ अर्बको आयोजना अघि बढाइएको थियो । दैनिक ४ करोड ८४ लाख लिटर पानी उत्पादन गर्ने योजना बनाएर काम सुरु गर्न खोज्दा मेयर साम्पाङले विदेशी अनुदान अस्वीकार गर्दै बाधा पुर्‍याएको उनको भनाइ छ ।

‘मेयरज्यू रित्तो गाग्री बोकेर काठमाडौं गएर पानी माग्नुहुन्छ, तर सरकारले रकम विनियोजन गरेर सहकार्य गर्न खोज्दा आयोजना असफल बनाउन खोज्नुभयो,’ यादवले भने । मन्त्री यादवले मेयर साम्पाङलाई छलफलका लागि बोलाउँदा पनि नआएको र पटकपटक फोन गर्दा सम्पर्क नगरेको गुनासो गरे ।

उनले साउन ७ गतेभित्र टेन्डर आह्वान गरी आयोजना सुरु गर्नुपर्ने भए पनि मेयरको असहमतिका कारण ढिलाइ भएको बताए । आयोजनाका लागि धरान उपमहानगरपालिकाले १५ प्रतिशत रकम साझेदारी गर्नुपर्ने उनको भनाइ छ । धरानका उपमेयर अइन्द्रबिक्रम बेघाले मेयर साम्पाङले तत्काल आयोजनाका लागि बाटो खुला गर्नुपर्ने बताए ।

उनले राजनीतिक प्रचारबाजीले धरानवासीलाई नै हानि पुग्ने चेतावनी दिए । सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले पनि मेयरको कमजोरीले खानेपानी समस्या झन् जटिल बनेको बताए । मन्त्री यादवको आरोपबारे बुझ्न खोज्दा मेयर साम्पाङले फोन उठाएनन् ।  

प्रतिक्रिया दिनुहोस्