Logo
Logo

कर्णाली विकास बैङ्कको ४ अर्ब ९० करोड रुपैयाँ अनियमिततामा थप एक जना पक्राउ


504
Shares

काठमाडौं । कर्णाली विकास बैङ्कको ४ अर्ब ९० करोड रुपैयाँ अनियमितता भएको प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नेपाल राष्ट्र बैङ्कका पूर्वकर्मचारी सुनसरी स्थायी घर भएका ६१ वर्षीय भुवन बस्नेत रहेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंकोबाट पक्राउ गरेको हो । 

बैङ्क गम्भीर समस्यामा फसिसकेका बेला समेत अनुगमन अधिकृतका रूपमा खटिएका उनले अवस्था ठिक रहेको भन्दै प्रतिवेदन दिएको आरोप छ ।  यसअघि सीआईबीले अनुगमनमा गएकाहरुको विवरण माग्दै नेपाल राष्ट्र बैङ्कलाई पत्राचार गरेको थियो । पत्र गएपछि राष्ट्र बैङ्कका कर्मचारीहरूबिच यो विषयले तनाव सिर्जना गराएको थियो ।

त्यसपछि सीआईबीसहित प्रहरी उच्च अधिकृतहरुसँग गभर्नर विश्व नाथ पौडेलले समेत चासो देखाएका थिए । यो बैङ्कमा भएको घोटालामा प्रहरीले भारतबाट संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ गरेर ल्याएको थियो । 

कर्णाली विकास बैङ्कको अन्य बैङ्क खातामा रहेको रकम र बैङ्कको कोर बैङ्किङ प्रणाली (सीबीएस) मा प्रविष्ट रहेको रकमबीच अन्तर निस्किएपछि यसमा घोटाला भएको खुलेको थियो । विभिन्न बैङ्कको खातामा रहेको मौज्दातको नक्कली ब्यालेन्स सर्टिफिकेट बनाई केही वर्षदेखि अपचलन लुकाएको आन्तरिक छानबिन समितिले देखाएपछि अनुसन्धानका लागि सीआईबीलाई पत्र पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्