काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले प्रदेश सभा खारेज गर्ने पक्षमा आफ्नो पार्टी रहेको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रदेश कायम राख्ने तर प्रदेश सभा खारेज गर्ने रास्वपाको नीति रहेको स्पष्ट पारे ।

उनले प्रदेश सभामा स्थानीय तहका प्रतिनिधिहरू सहभागी हुने गरी नयाँ व्यवस्था बनाउनुपर्ने बताए । ‘हामी प्रदेश सभा खारेज गरेर स्थानीय तहका पालिकाहरूबाट प्रतिनिधिहरूले प्रदेश सभा सञ्चालन गर्ने व्यवस्था चाहन्छौँ,’ झाले भने ।
रास्वपाका प्रवक्ता समेत रहेका झाले संघीय मन्त्रालयको सङ्ख्या २१ बाट घटाएर १५ मा सीमित गर्ने पार्टीको योजना रहेको जानकारी दिए । उनले भने, ‘प्रदेश र स्थानीय तहबीच समन्वय अझ प्रभावकारी बनाउनुपर्छ । अहिले त एकअर्कालाई चिन्ने र बुझ्ने प्रयाससमेत भएको छैन ।’
उनले अनावश्यक खर्च कटौतीका लागि ११२ वटा आयोग र निकायहरू खारेज गर्ने प्रस्ताव गरे । ‘यी निकायहरूको कुनै काम छैन, तर गाडी, कर्मचारी र कार्यालय खर्च चलिरहेको छ । यिनलाई बन्द गर्दा वार्षिक २–४ अर्ब बचत हुन्छ,’ उनले थपे ।सांसद झाले नेपाली कांग्रेस र नेकपा (एमाले) का नेताहरूसँग स्पष्ट योजना, सिद्धान्त र रणनीति नभएको आरोप लगाए । उनले भने, ‘उनीहरूको जवाफ दिनमै हाम्रो समय खर्च भइरहेको छ । अब सत्तापक्षलाई संसदीय अभ्यास रास्वपाले सिकाउनेछ ।’














