
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न आम नागरिकलाई आग्रह गरेका छन् ।
मौसम विज्ञान विभागले आज आइतबार व्यापक मात्रामा वर्षा हुने आकलन गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत सुरक्षित स्थानमा रहन भनेका हुन् । साथै उनले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन पनि दिएका छन् ।
उनले भनेका छन्, ‘मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानहरूमा भारी वर्षा हुने अनुमान गरेको छ । मौसमजन्य विपद्बाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गरौँ। अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु । सुरक्षाकर्मीहरूलाई आवश्यक सुरक्षाको तयारी अवस्थामा रहन निर्देशन गर्दछु ।’
मौसमविभागका अनुसार आज रातिदेखि नै देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहानै सूचना जारी गरी गण्डकी प्रदेशका धेरै ठाउँमा ठूलो वर्षा भइरहेको जानकारी दिँदै सम्बन्धित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ ।














