Logo
Logo

विपद् प्रतिकार्यमा तत्काल कदम चाल्न सरकारलाई प्रचण्डको आग्रह


567
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका विभिन्न क्षेत्रमा वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेको भन्दै सतर्क रहन आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष प्रचण्डले नदी किनार, डुबान हुने होचो भू–भाग र पहिरोको उच्च जोखिम भएका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई स्थानीय प्रशासन र सम्बन्धित निकायको सूचना पालना गरी आवश्यक सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

उनले विपद् व्यवस्थापन र प्रतिकार्यमा उच्च तयारीका लागि सरकारलाई तत्काल कदम चाल्न समेत अनुरोध गरेका छन् ।

‘देशका विभिन्न क्षेत्रमा वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेको छ । नदी किनारका क्षेत्रहरू, डुबान भइरहने होचो भू–भाग र पहिरोको उच्च जोखिम भएका स्थानमा रहनुभएका सम्पूर्ण जनसमुदाय सतर्क रहनुहोला,’ उनले भनेका छन्, ‘स्थानीय प्रशासन तथा सम्बन्धित निकायहरूको सूचनाको पालना गर्नुहोला र आवश्यक सतर्कता अपनाउनु होला । साथै, विपद् पूर्व–व्यवस्थापन र प्रतिकार्यमा उच्च तयारीका लागि तुरुन्त कदम चाल्न सरकारसँग अनुरोध गर्दछु ।’

साथै, प्रचण्डले आफ्नो पार्टीका नेता–कार्यकर्तालाई विपद् व्यवस्थापनमा सहयोग गर्न, समयमै सूचना प्रवाह गर्न र राहत तथा उद्धारमा सक्रिय रहन निर्देशन दिएका छन् ।

उनले भनेका छन्, ‘हाम्रो पार्टीपंक्तिलाई विपद् व्यवस्थापनमा सहयोग पु¥याउन, जनतालाई समयमै सूचना दिन तथा आवश्यक राहत र सुरक्षाका उपायहरूमा सक्रिय रहन अपिल गर्दछु ।’

वर्षायाममा बाढी र पहिरोका घटनाहरू बढ्दै गएकाले सबै पक्षको समन्वय र सजगता आवश्यक रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्