Logo
Logo

बालुवाटर जान विद्याले किन गरिन् अस्वीकार ?


4.7k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच च्यासलस्थित पार्टी मुख्यालयमा भेटवार्ता जारी छ । दिउँसो ३ बजेका लागि तय गरिएको यो भेट प्रधानमन्त्री ओलीको व्यस्तताका कारण केही ढिलो गरी सुरु भएको हो ।

भण्डारीले गत १४ असारमा एमाले राजनीतिमा पुनः सक्रिय हुने घोषणा गरेयता एमालेभित्र पक्ष र विपक्षमा मतहरू देखिन थालेका छन् । आगामी भदौमा विधान महाधिवेशनको तयारी गरिरहेको एमालेले पछिल्ला केही दिन लगातार पार्टी बैठक चलाइरहेको छ ।

सचिवालय, पोलिटब्युरो लगायतका बैठकमा औपचारिक रुपमा भण्डारीको राजनीतिक संलग्नताको इच्छाबारे छलफल थालिएको छ ।

यही सन्दर्भमा आइतबार ओली र भण्डारीबीच भएको भेटलाई पार्टी वृत्तमा विशेष चासोका साथ हेरिएको छ । स्रोतका अनुसार, प्रधानमन्त्री ओलीले बिहानै भण्डारीलाई सरकारी निवास बालुवाटारमा भेटका लागि आग्रह गरेका थिए । तर, भण्डारीले सो प्रस्ताव अस्वीकार गरिन् ।

पार्टीभित्रको छलफल सरकारी निवासमा गर्दा नकारात्मक सन्देश जान सक्ने भन्दै भण्डारीले बालुवाटार जान अस्वीकार गरेकी उनी निकट स्रोत बताउँछ । त्यसैले उनले ओलीलाई पार्टी कार्यालयमै बोलाएकी थिइन्। भण्डारीको आग्रहपछि ओली च्यासलमै पुगेर भेटवार्तामा सहभागी भएका हुन्।

भेटका क्रममा मुख्यतः भण्डारीको सक्रिय राजनीतिमा पुनरागमन, त्यसले पार्टीभित्र सिर्जना गर्ने सम्भावित ध्रुवीकरण र आगामी महाधिवेशनमा नेतृत्व समीकरणबारे छलफल भइरहेको बताइएको छ । ओली पक्षले उनको सक्रियताले नेतृत्व प्रतिस्पर्धालाई चर्काउन सक्ने भन्दै चासो व्यक्त गर्दै आएको छ।

भण्डारीले आफू राजनीतिक भूमिकामा फर्किन एमाले केन्द्रीय कमिटीको निर्णयको प्रतीक्षा गरिरहेकी बताउँदै आएकी छन् ।

यसबाहेक, उनी सक्रिय राजनीतिमा फर्किएपछि नेपाली कांग्रेसभित्र समेत बहस सुरु भएको छ । कांग्रेसका केही नेताहरूले संवैधानिक पद सम्हालेको व्यक्तिले फेरि दलगत राजनीतिमा सक्रियता देखाउनु लोकतान्त्रिक मूल्य र राजनीतिक प्रणालीको मर्ममाथि गम्भीर प्रश्न उठाउने तर्क गरेका छन्।

प्रतिक्रिया दिनुहोस्