
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको ध्येय नै जनताको आवाज सुन्ने, चाहना पूरा गर्ने र सुशासनको माध्यमबाट आर्थिक रुपमा समृद्ध नेपाल निर्माण गर्ने रहेको बताएका छन् ।
राष्ट्रिय विभूति भीमसेन थापाको २५१औँ जयन्तीको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यही शासन प्रणालीबाट नै हामीले हाम्रा पूर्खा र इतिहासले सुम्पिएको दायित्व पूरा गर्न सक्ने भताए ।
उनले भने, ‘इतिहासका अनेकौँ कालखण्डबाट गुज्रदै हाम्रो देश अहिले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणाली अङ्गालेर अघि बढ्दैछ । वास्तवमा यो शासन प्रणालीको ध्येय भनेको जनताको आवाज सुन्ने, जनताको चाहना पूरा गर्ने र सुशासनको माध्यमबाट आर्थिक रुपमा समृद्ध नेपाल निर्माण गर्ने नै हो । यसबाट नै हामीले हाम्रा पूर्खा र इतिहासले सुम्पिएको दायित्व पूरा गर्न सक्छौँ । हामी सबैको ध्यान त्यसतर्फ केन्द्रित होस् भन्न चाहन्छु ।’
राष्ट्रपति पौडेलले षड्यन्त्रै षड्यन्त्रको अभिशप्त इतिहासलाई बदल्नुपर्ने सोचसहित आफूले लेख लेखेको स्मरण गर्दैभने, ‘हामी अहिले अभिशप्त इतिहास बदलेर एउटा निष्कपट, खुला र उन्नतशील समाजबाट नेपाललाई डो¥याउन कटिबद्ध छौँ । त्यसैले निराश हुन जÞरूरी छैन ।’
राष्ट्रपति पौडेलले इतिहासको जगमा वर्तमान खडा हुने भन्दै वर्तमानको जगमा भविष्यको आधारशीला तय हुने भएकाले वीर पूर्खाहरूको त्याग, बलिदान र बुद्धिमत्तापूर्ण कार्यबाट नै अहिले हामी यहाँसम्म आइपुगेकोे स्पष्ट पारे । उनले मुलुकको सार्वभौमसत्ता राष्ट्रिय अखण्डता र स्वतन्त्रताको रक्षाको खातिर आफ्नो जीवनको आहुति दिएका राष्ट्रिय विभूति भीमसेन थापा नेपालको इतिहासमा उच्चकोटिका राजनीतिज्ञ भएको पनि बताए ।
उनले दक्षिण एसियामा प्रभाव जमाउँदै आएको औपनिवेशिक साम्राज्य शक्तिलाई परास्त गर्दै मुलुकलाई पराधीन हुनबाट थापाले जोगाएको स्मरण गरे ।














