रुपन्देही । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलेका राष्ट्रिय युवा संघ नेपालका लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेल निलम्बनमा परेका छन् । संघले खरेललाई एक वर्षका लागि निलम्बन गरेको हो ।

साउन ९ गते बसेको पदाधिकारी बैठकले खरेललाई निलम्बन गर्ने निर्णय गरेको जनाएको छ । रुपन्देहीको देवदहका खरेललाई राष्ट्रिय युवा संघ नेपालको विधान २०४७ (दशौं राष्ट्रिय महाधिवेशन, २०८२ जेठ ९–११, पोखरा, कास्कीद्वारा संशोधितको धारा ४१ तथा धारा ४२ (क) र (ख) बमोजिम संगठनका सम्पूर्ण जिम्मेवारीहरूवाट पदमुक्त गर्दै, एक वर्षका लागि संगठनबाट निलम्बन गर्ने निर्णय गरिएको महासचिव रमेश चौलागाईले जारी गरेको पत्रमा उल्लेख छ ।
संघको पोखरामा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनका सन्दर्भमा स्पष्टीकरण सोधिएकोमा खरेलले गैरजिम्मेवार र अराजक जवाफ पठाएको, केन्द्रको निर्देशन अवज्ञा गर्दै प्रदेश कमिटीको सचिवालय बैठक राखेको र स्वेच्छाचारी तथा मनोमानी गतिविधि गरेको आरोप लगाइएको छ ।
उनीसँग सोधिएको स्पष्टीकरणमा १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमण्डलका सदस्यमाथि अशिष्ट र अभद्र व्यवहार गरेको, प्रतिनिधिहरूलाई धम्काएको र सामाजिक संजालमा पार्टी नेतृत्वनाई लाञ्छना लगाउने र मानहानी गर्ने लगायतका गतिविधि गरेर पार्टी तथा संगठनको हितमा नकारात्मक असर पारेकोले तीन दिनभित्र भौतिकरुपमा उपस्थित भई स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको थियो । तर, खरेलले भौतिकरुपमा उपस्थित नभई इमेलमार्फत स्पष्टीकरण दिएका थिए ।
उनले महाधिवेशनमा अध्यक्षमा सुमन पुरीलाई समर्थन गरेको तर, कसैलाई अभद्र व्यवहार नगरेको जवाफ फर्काएका थिए ।
‘पार्टीलाई एकताबद्ध र बलियो बनाउन नेतृत्वको विकल्प खोज्नु कुनै अपराध होइन, म अधिवेशनबाट निर्वाचित भएको हुँ, मलाई हटाउन अर्को अधिवेशनले मात्रै सक्छ । निलम्बनको निर्णय अन्यायपूर्ण र पुर्वाग्रहणप्रेरित छ, म संघमै क्रियाशील रहेर गतिविधि अघि बढाउँछु, आवश्यक परे समानान्तर कमिटी बन्न सक्छ’ उनले भनेका छन् ।
खरेलले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले मार्गप्रशस्त गर्नुपर्ने तर्क गर्दै सम्मानसहित पार्टी नेतृत्व परिवर्तनको कुरा सामाजिक सञ्जालमार्फत् उठाउनुलाई लोकतान्त्रिक अभ्यास भनेका छन् ।














