Logo
Logo
कविता-साहित्य

दिङ्ला रितिरहेको छ


प्रकाशचन्द्र खतिवडा

1.4k
Shares

दिङ्ला रित्तिरहेको छ
औपचारिक हार्दिकता गुमाएर
दिङ्ला झोक्राइ रहेको छ
मौन जुलुसको मुर्दा मन घिसारेर
गुरु षडानन्द टोलाइ रहेछन्
शिष्यहरुको हतारो देखेर
कैलाश डाँडामा पाठशाला छैन
पाठशाला खोज्न भञ्ज्याङ्गतिर झर्नुपर्ला
गुरुलाई सालिकमा सीमित राखी
पुरुषार्थको फुँइ हाँक्दैछन दिङ्लालीहरु
नैतिकता सबै गुमाइ
अनैतिकताको दाँत ङिच्च देखाएर ।

दिङ्लाको पुर्खौली विरासत लत्याउँदै
भलाद्मीहरु मुर्दा हाँसो हाँस्छन
दिङ्ला रोइ बस्छ
दिङ्लालीहरु भयभीत हुन्छन
जीवनको जिजीविषा गुमाएर ।

कुनै दिन यो दिङ्ला
अरुणको प्रवाहमा हेलिदै
मकालु संग लुकामारी गथ्र्यो
ट्यामकोलाई साक्षी राखेर
आफूलाई गौरवशाली ठान्थ्यो
सिलिचुङ्लाई सिराने हाली
रामनवमी र शद्मीमा
माया पिरति साट्दै
छमछमी नाच्थ्यो ।

अहिले त दिङ्ला
अरुणसँग सुसाउँदैन
मकालुसँग जिस्कँदैन
ट्याम्केसँग नहाँसेको वर्षौ भयो
माया पिरती साट्नै नपाइ
सिलिचुङ्सँग पनि त लुकामारी खेल्दैन दिङ्ला ।

अनुशासनको प्रशासन नै नभए जस्तो
कोही भट्टी पसलमै मातेको छ
र अश्लील शब्द साटेको छ
कोही जुवाको खालमा बसेको छ
र सुकुम्बासी भएको छ
लाग्छ
दिङ्लालाई दिङ्लालीहरुले नै
कठपुतली बनाइ
सिस्नुपानी लगाइएको छ
सिस्नु पानीले भत्भति पोलेर दिङ्ला
थला बस्ने गरी रोएको छ ।

अभिमानले भ्रमित दिङ्लालीहरु
तपाईहरुलाई दिङ्लाको माया नलागेकै हो त ?
लाग्दैन भने केही छैन
म सगौरब भनि दिउँला
दिङ्लाली जस्तो स्वर्थी मान्छे
यो मुलुकमा अरु कोही छैन
दिङ्ला जस्तो अपहरित ठाउँ
यो मुलुकमा अन्त कही छैन ।

लालावाला रोइरहेछन
घर जहानहरु बाटो हेर्दै होलान्
कोइला खातमा कोइला काट्न गएका
खसमहरु फर्केका छैनन
वृद्ध बा–आमा
डाँडाको जून घाम भैmँ सके
छिमेकमा पनि लाठेहरु छैनन
लाटोकोशेरो रुन्छ
कुकुर कराउँछ
र पनि बाटो रित्तै हुन्छ
हरेक साँझ
बा आमाको मन भाँच्चिन्छ
छोराहरु नफर्केपछि
घर जहान उदास देखिन्छिन
सँगै बाँच्ने
सँगै मर्ने
वाचा कसम तोडिएपछि ।

दिङ्ला रित्तिरहेको छ
र म रित्तो कविता लेख्दै छु
दिङ्ला झोक्राइरहेको छ
र म दुःखान्त कथा लेख्दै छु
साँच्चि, ए दिङ्ला
यसपालिको हिउँदमा
कति घर बसाइँ हिँडाउने सुरसार छ त ?

दिङ्ला, तिमीले रित्तिनु हुँदैन
क्रान्ति र परिवर्तन अधुरै होला
चेतनाको दियो निभ्न सक्छ
पुराना पातहरु झरिसके
मुजुरा पलाउन समय लाग्ला
दिङ्ला तिमी नझोक्राउ
सुनौलो बिहानी भित्र्याउन
तिमीले कठोर संघर्ष गर्नैपर्छ ।

सुन्दरहरैंचा–०६, दुलारी मोरङ ९८४२०७३५२५ Email : [email protected]

प्रतिक्रिया दिनुहोस्